अमर मावि ।

हेटौंडाः हेटौंडा—१, चाइनाक्वार्टरस्थित अमर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा उमाकन्त गौतम चयन हुनुभएको छ । अभिभावक भेला भएको १० महिनापछि पुस २३ गते गौतम सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । पुस २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गौतमलाई सर्वसम्मत अध्यक्ष चयन गरेको अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो ।

कक्षा ६ मा अध्ययनरत सुविन गौतमका हजुरबुबा उमाकान्त गौतम सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । २०७७ साल फागुन २१ गतेमा भएको अभिभावक भेलाबाट चार जना अभिभावक प्रतिनिधिलाई सदस्य चयन गरेको थियो । अभिभावक भेलाबाट गौतमसहित मानबहादुर लामा, मीना तामाङ र लक्ष्मी घिमिरे व्यवस्थापन समिति सदस्य चयन हुनुभएको थियो ।

यस्तै शिक्षाप्रेमीको रुपमा विद्यालयका पूर्वप्रधानाध्यापक रामकुमार बर्तौला र चन्दादाताको रुपमा जानकी गिरी विद्यालय व्यवस्थापन समितिको सदस्य मनोनित हुनुभएको थियो । वडा कार्यालयको प्रतिनिधिको रुपमा वडाध्यक्ष सविन न्यौपाने, शिक्षक प्रतिनिधी अकुरप्रसाद गौतम सदस्य रहनुका साथै प्रधानाध्यापक मालती उप्रेती सदस्य सचिव रहनुभएको छ ।

अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्य निर्वाचितमध्ये दुईजना आकांक्षी भएसँगै अध्यक्ष चयनको प्रक्रिया रोकिएको थियो । लामो समय सहमति हुन नसक्नुका साथै पूर्ण वैठक बस्न नसक्दा पनि अध्यक्ष चयनमा केही ढिलाई भएको प्रधानाध्यापक उप्रेतीको भनाई छ । सरकारले सरकारी विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा समुदायको सहभागिता बढाउनकै लागि अभिभावक प्रतिनिधिलाई व्यवस्थापनको जिम्मा दिने रणनीति बनाएको हो । तर, आकांक्षीबीचको होडवाजीका कारण लामो समय नेतृत्व चयन हुन नसक्दा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समुदायको सहभागिता भने प्रभावकारी हुन सकेको छैन ।