१. विद्यालय शिक्षाको शैक्षिक सत्र यसवर्ष २ महिना ढिलो गरी असारबाट शुरु भएको हो । यसको मूल कारण नै कोरोना भाईरस हो । शिक्षण संस्थाहरु विगतको लयमा फर्कने प्रयत्न भैरहेको वर्तमान अवस्थमा कोरोनाको तेश्रो भेरियण्ट भनिने ओमिक्रोन नामाकरण गरिएको पछिल्लो भाईरसले उच्च बिजिनेस पाइरहेको छ । सन् २०१९ डिसेम्बरको अन्तिम सातामा चीनको वुहान शहरमा उब्जिएको कोरोना भाईरस पछि कोभिड–१९ नामाकरण गरिएको हो । यस भाईरसकै कारणबाट लगभग २ वर्षको अवधिमा करिब ३१ करोड भन्दा बढि व्यक्ति संक्रमित भएकोमा ५५ लाख भन्दा बढि मानिसको ज्यान यसैले लिईसकेको तथ्यांक बाहिर आएको छ ।
नेपालमा २०७६ साल चैत्र ११ गतेबाट लकडाउन गरिएको थियो । उक्त लकडाउनको ५४औं दिनमा २०७७ जेठ ३ गते कोरोना भाईरसको कारणबाट काभ्रे, धुलिखेलकी महिलाको मृत्यु घोषणा नै पहिलो केस भए पश्चात लगभग २० महिनाको पीेडाजनक अवस्थाबाट गुज्रिरहँदा यो भाईरसको तेश्रो भेरियण्ट समेतको कारणले नेपालमा ११ हजार भन्दा बढि व्यक्तिको निधन भैसकेको छ । साथै ८ लाख ३५ हजार भन्दा बढि व्यक्ति संक्रमित भएको भनिए पनि करिब २० हजार जना मात्र सक्रिय संक्रमित केस रहेको सरकारी तथ्यांक बाहिर आएको छ ।
२. कोभिड–१९ को विश्वव्यापी महामारीले नेपाल मात्र नभई भारत, अमेरिका, ब्राजिल, मेक्सिको, ईरान, रसिया, युके, फ्रान्स लगायतका राष्ट्रहरुमा ठूलो मानवीय क्षतिको अतिरिक्त शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, पर्यटन, समेत विकास निर्माणका कामहरु अस्तव्यस्त भएका छन् । मानवीय क्षति न्यून गर्ने तर्फ सबैको ध्यान गएको छ र जानुपर्छ । मानव स्वास्थ्य सवैभन्दा महत्वको अहम सवाल हो । जिवन नै नरहे अरु कुराको अर्थ रहँदैन ।
यस विषम र पीडाजनक अवस्थामा सरकारको जिम्मेवारपूर्ण अभिभावकत्वको अपेक्षा आम नागरिकको स्वभाविक आवाज हो । कोरोनाको कारणबाट नेपालमा पनि अपुरणीय क्षति भैसकेको छ । उसै त भ्रष्टाचारले जर्जर बनेको अर्थतन्त्रलाई कोरोनाले झनै अस्तव्यस्त बनाएको छ । कुनै न कुनै निहुँमा देश लुट्न पल्केकाहरुका लागि यो कोरोना कहर भाग्योदय सावित भएको छ । सर्वसाधारण निरिह नागरिकहरुमा भने एकपछि अर्को पीडा हुँदै नयाँ भेरियण्टको नाममा वर्षै पिच्छे थपिँदै जाँदा क्रमशः असह्य सकसपूर्ण बन्दै गैरहेको छ ।
३. यसै सन्दर्भमा, नेपाल सरकारले सिसिएमसिसिको सिफारिसमा मिति २०७८ पौष २७ गतेबाट लागु हुनेगरी माघ १५ सम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । यसको पछाडि ओमिक्रोन भनिने कोरोनाको तेश्रो अवतार नै मूल कारक रहेको छ । बजारको भिड यथावत छ । सार्वजनिक तथा निजी यातायातको चाप थेग्न सडकलाई कठिन बनिरहेको छ । मेला, पर्व, जात्रा, उत्सव, जन्ति, मलामी, धार्मिक अनुष्ठानहरु, चलिनै रहेका छन् । पार्टीहरुको सभा, जुलुस, विरोधका कार्यक्रमहरु, विजयोल्लासका भिडहरु, अधिवेशनहरु, वैठकहरु, सवै नियमित छन् ।
विश्वविद्यालय तथा प्रतिष्ठानहरुका कक्षा तथा परीक्षाहरु यथावत संचालनमा छन् । कक्षा १२ सम्म भने बन्द गर्ने भनिँदा खोप नलगाएको कारण भनौं भने १२ वर्ष उमेर माथिकाका लागि स्कूलमै खोप दिने काम धेरैमा सम्पन्न भएको र थोरैमात्र बाँकी भनिएको छ । खोप लगाउन बाँकी भन्ने हो भने छुट्याएर नै बिदा दिँदा वैज्ञानिक बन्न सक्थ्यो कि ? खोप लिईसकेकाहरुका लागि सावधानीपूर्ण कक्षा सञ्चालन अन्यथा नहुने स्पष्ट छ । विन्टर भ्याकेशनलाई कोरोना बिदामा जोडेर स्कूल बन्द भएको चर्चा सुनिनु राम्रो होईन ।
४. कोरोना रोकथामका लागि स्कूल बन्द एकमात्र निर्विकल्प उपाय बुझेको सरकारले थोरै विश्लेषण गरेर केहि जिम्मेवारी देखाउन जरुरी थियो । बालबालिकाको जिवन रक्षाका लागि यति संवेदनशिलता देखाए झैं गर्न खोज्दा तिनै भविष्यका राष्ट्रका कर्णधार भनिएका विद्यार्थीहरुको भविष्यप्रतिको गम्भिरता पटक्कै देखिएन । विकल्पहरुको बारेमा सरोकारवालासँग कुनै चासो र मतलव राखिएन । विगत दुई वर्षदेखिको शैक्षिक अस्तव्यस्तताले भएको क्षति आँकलन र रिकभरका सम्बन्धमा बहस आम अपेक्षा रहेको छ । तर, यता समय दिन सरकारको फुर्सद छैन । यो बिडम्वना भन्नै पर्दछ । सरकारी निर्णयको अवज्ञा बारम्बार हुनु भनेको कदापि उपयुक्त हुनै सक्दैन ।
हाल सरकारले देश भरिका विद्यालय पौष २७ गतेदेखि माघ १५ गतेसम्म बन्द गर्ने निर्णयको सूचना जारी गरेको छ । तर यसको कार्यान्वयन पक्ष धेरै कमजोर देखियो । यद्यपि अधिकांश शिक्षक तथा विद्यार्थीेबाट बिदाको सूचना सक्दो प्रचार र सोको कार्यान्वयनका लागि पर्याप्त कसरत भएको देखिन्छ । हिउँदे बिदा भएकाका लागि यसले अर्थ राख्दैन । कतिपय स्थानीय तहले निर्णय गरेरै बिदा बन्द नगर्ने भनिएको कुरा बाहिर आएको छ । संघीय सरकार र स्थानीय सरकारको निर्णयमा देखिएको विरोधाभासले अपरिपक्वताको साविति प्रवाह गर्दछ ।
५. भौतिक उपस्थितिमा भर्खर कक्षामा जोडिएका विद्यार्थीहरु फेरि टाढिने अवस्थाले शिक्षण सिकाईको मर्म र उद्देश्य पनि टाढिएको छ । वैकल्पिक कक्षाहरु अर्थात अनलाईन कक्षाको प्रभावकारिता फितलो र नाममात्र भएको सरोकारवालाको अनुभव बारम्बार चर्चामा आएकै हो । झण्डै ३५ हजार विद्यालयका करिब ६० लाख विद्यार्थीहरु मध्ये १० प्रतिशतले पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्ने भनाई सम्बन्धित विज्ञ तथा विश्लेषकहरुबाटै सुनिएको छ । विगतका अनुभवहरुबाट कक्षागत रुपमा आलोपालो गरी दैनिक बढिमा ३ घण्टा विद्यालयमा नै भौतिक रुपमै सम्पर्क कक्षा नै सबैभन्दा उत्तम उपाय सावित भएको छ ।
टोलटोलमा शिक्षक गएर कक्षा लिनेकाम झनै जोखिम र अव्यवहारिकसँगै असहज भएको तथ्य शिक्षकहरुबाटै आएको हो । रेडियो सुनेर सिक्ने प्रयत्न विद्यार्थीमा पाईएन । टिभिको कक्षामा समेत विद्यार्थीको ध्यान फितलो देखियो । अनलाईन कक्षा बढि औपचारिकतामा सीमित भएको यथार्थ जगजाहेर छ । शिक्षण सिकाईको न्यूनतम आधार र प्रभावकारिताको आवश्यक विश्लेषण सरकारी अंगको जिम्मेवारी नै हो । सरकारी संयन्त्रको बेवास्ता र सरोकारवर्गको खबरदारीको अभाव पनि आजको मुल समस्या बन्दै आएको छ ।
६. समस्यामा एकले अर्कोलाई देखाएर कहिले संघीय सरकार पन्छिने अनि कहिले स्थानीय सरकार यो हाम्रो जिम्मेवारी होईन भन्दै बेवास्ता गर्ने शैली नयाँ होईन । अहिले कोरोना संकटकाल लम्बिरहेको स्थितिमा देशका समग्र विद्यार्थीको जिवन रक्षाको सवालसँग उनीहरुको भविष्य जोडिएको शैक्षिक मुद्दा सरकार र सम्वद्ध पक्षको पहिलो प्राथमिकता बन्नै पर्दछ । स्वास्थ्य मापदण्डको पालना नागरिक कर्तव्य हो । कुनैपनि जोखिमबाट हरेक व्यक्ति सजग र सावधान रहनै पर्दछ । रोग संक्रमित व्यक्तिबाट अन्य व्यक्तिहरु टाढा रहेर जोगिनुमा नै उत्तम देखिन्छ । यसको अर्थ संक्रमितलाई हेंला र छिछि, दूरदूर तथा निराश बनाउने काम गर्नै हुँदैन ।
उत्साह बढाएर परहेज तथा उपचारमा सक्दो ध्यान दिएर मात्र जिवन बचाउन सकिन्छ । कोरोनाबाट जोगाएर शिक्षा प्रदान गर्न सकियो भने मात्र सरकारको उपस्थिति र प्रभाव देखिन्छ । अन्य क्षेत्रमा सहज र्झैं भिडभाड र लापर्बाह हुने अनि स्कूल मात्र कोरोना फ्याक्ट्री देख्ने सरकारी आँखा भने परिक्षण गर्नैपर्ने हुनसक्छ । बन्दका विकल्पहरुका सम्बन्धमा पर्याप्त छलफल र विश्लेषण हाम्रो अपेक्षा हो । (लामिछाने हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)