उपाधिका साथमा महेन्द्र माविको टिम ।

हेटौंडाः जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले जितेको छ । शुक्रबार दिउँसो हेटौंडा–४, हुप्रचौरमा सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो ।

उपविजेता टिम सुन्दरीदेवी मावि ।

महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बेस्ट प्लेयर महेन्द्र माविका रमेश परियार

उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगर घोषित भएका छन् । उनीहरुले जनही २ हजार रुपैयाँ पाएका छन् ।

बेस्ट स्पाइकर सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो ।

बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगर ।

समापन कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।