हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र हेटौंडाले आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा सामाजिक परीक्षण कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ, हेटौंडा–१९ की वडा सदस्य इन्दिरा तामाङ, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य सरिता सापकोटाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
सामाजिक परीक्षणमा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रतिवेदन, कार्यक्रम संयोजक दिपक न्यौपानेले कार्यक्रमगत प्रतिवेदन र प्रशासनिक तथा वित्त अधिकृत शर्मिला मगरले आर्थिक वर्ष २०७७/०७८ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मेयर महतले ग्रामीण महिला सेवा केन्द्रले ग्रामीण भेगका दिदीबहिनीहरुलाई सहयोग गर्ने कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले संस्थाको पारदर्शिताका लागि सामाजिक परीक्षण महत्वपूर्ण हुने बताउनुहुँदै ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम प्रभावकारी पाइएको बताउनुभयो ।
कार्यक्रममा युवा सञ्जालकी अनुजा गुरुङले आफूले मनहरीको पद हस्तान्तरण कार्यक्रमबाट सिकी मनहरी गाउँपालिकाको बाल संरक्षण नीति २०७८ अनलाइन बाल संरक्षण नीति समावेश गर्न पहल गर्न सकेको बताउनुभयो । बागमती गाउँपालिकाका सरोज विकले आफ्नो व्यक्तित्व विकासमा परिवर्तनका संवाहक सहजीकरण कक्षा तथा ग्रामीणले ठूलो भूमिका खेलेको बताउनुभयो ।