कोरोना भाइरस संक्रमण (कोभिड–१९)को संक्रमण फेरि बढ्दै गएको छ । लामो समयदेखि न्यून बनिरहेको संक्रमण दर पछिल्ला दिनहरुमा गुणात्मकरुपमा बढिरहेको छ । करिब २ वर्षअघि चीनबाट सुरु भएको कोभिड–१९ ले विश्वका सबैजसो देशलाई प्रभावित पारेको छ । दुई वर्षभन्दा लामो समयदेखि संक्रमणको विभिन्न लहरसँगै कोरोनाका फरक–फरक भेरियन्ट पाइएको छ । नेपालमा पहिलो लहर अन्त्यजस्तो भएपछि एक्कासी कोरोनाको डेल्टा भेरियन्ट विस्तार भएर दोस्रो लहरको संक्रमण भएको थियो । अहिले फेरि ओमिक्रोन भेरियन्टले तेस्रो लहरको संक्रमण व्यापक बन्दै गएको हो ।
कोरोना भाइरसविरुद्ध विभिन्न प्रकारका खोपको विकाससँगै नयाँ–नयाँ भेरियन्टको उत्पत्तिले विश्वलाई नै पिरोलिरहेको छ । नेपालमा पनि कोरोना भाइरसविरुद्ध विभिन्न प्रकारका खोप लगाउने कार्य जारी नै रहेको समयमा एक्कासी संक्रमण व्यापक बन्न थालेपछि संक्रमण फैलने त्राससँगै पुनः लकडाउनको चिन्ता बढेको छ । कोरोना संक्रमण बढ्दै गएपछि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भइसकेको छ भने २५ जनाभन्दा बढी भेला भएर गरिने सबै प्रकारका क्रियाकलाप नगर्न सरकारले आदेश जारी गरेको छ । पहिलो लहरको समयमा कोरोनाको परीक्षण र उपचारको पर्याप्त व्यवस्थापन गर्न नसकेको सरकारले दोस्रो लहरको संक्रमणमा पनि उचित व्यवस्थापन गर्न सकेको थिएन । अहिले भारतमा संक्रमण व्यापक बनेपछि भारतबाट आउनेहरुले संक्रमणको दर बढाएको अवस्था बन्दा पनि त्यसलाई व्यवस्थापन गर्न सरकार असफल बनेको छ । भारतबाट आउनेहरुका लागि मुख्य नाकाहरुमा प्रभावकारी परीक्षण र होल्डिङ सेन्टरको व्यवस्थापनमाा सरकार चुकेको छ ।
पुस महिनाको सुरुवातबाट नै २ सयदेखि ३ सयको बीचमा रहेको संक्रमण दर पछिल्लो समय ह्वात्तै बढेको छ । गत पुस १८ गते २ सय १६ जनामा संक्रमण देखिएकोमा पुस १९, २०, २१ र २२ गते क्रमशः ३ सय २६, ३ सय ९३, ४ सय ३५ र ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यसपछिका दिनमा गुणात्मकरुपमा वृद्धि भएको कोरोना संक्रमण आइतबार १ हजार १ सय ६७ जनामा संक्रमण हुँदा मंगलबार संक्रमितको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो एक सातामै देशमा सक्रिय संक्रमितको संख्या दोब्बर भएको छ । यता मकवानपुरमा पनि कोरोना संक्रमण निकै वृद्धि भएको छ । दैनिक ३–४ जनामा मात्र संक्रमण देखिँदै आएकोमा पछिल्लो केही दिनयता संक्रमण ह्वात्तै बढेको छ । एकैदिनमा संक्रमण तीनगुणा बढेको छ । सोमबार २० जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
समुदायस्तरमा कोरोनाको संक्रमण गुणात्मकरुपमा फैलिएको अवस्थामा स्वयम् नागरिक नै सचेत नभएसम्म यसको संक्रमण रोक्न सक्रिँदैन । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आफ्नो दैनिकीलाई निरन्तरता दिनुुको विकल्प छैन । कोरोना संक्रमणको दर तिब्र बनिरहेको अवस्थामा संक्रमण बढ्न नदिन सबै तहका सरकारले उचित व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । बढी भिडभाड हुने क्षेत्रमा नजाने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र विशेष सतर्कता अपनाउने गरेमा कोरोना संक्रमणको जोखिम कम हुने तथ्यलाई भुल्नु हुँदैन ।