कथा लेखन कार्यशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ।

हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले विद्यार्थीका लागि कथा लेखन कार्यशालाको आयोजना गरेको छ । ४ कक्षादेखि ८ कक्षासम्म अध्ययनरत २० जना विद्यार्थीलाई विद्यालयमै तीनदिने कार्यशालाको आयोजना गरिएको हो । बालकथाकार अनुराधाले कार्यशालामा सहजीकरण गर्नुहुनेछ ।

साहित्य लेखनमा रुचि राख्ने, लेखनको अभ्यास गर्ने विद्यार्थीलाई छनोट गरेर आयोजना गरिएको कार्यशालामा शिक्षक पनि सहभागी छन् । कार्यशालामा सहभागी भई कथा लेखनसम्बन्धी ज्ञान हासिल गरेका विद्यार्थीले आफ्ना साथीलाई पनि कथा लेखनबारे जानकारी गराउने शिक्षक सीएम रिमाल बताउनुहुन्छ । काठमाडौं पब्लिकेशन्ससँगको सहकार्यमा आयोजना गरिएको कार्यशालाबाट सिकेका विद्यार्थीका रचनालाई भोलिका दिनमा पुस्तककै आकारमा कृति प्रकाशन गर्ने लक्ष्य रहेको विद्यालयका निर्देशक दिपेश जोशीले बताउनुभएको छ ।

कथा लेखन कार्यशालामा सहभागी विद्यार्थीहरु ।

आज बिहान एक कार्यक्रमका बीच तीनदिने कार्यशालाको उद्घाटन गरिएको छ । विद्यालयका निर्देशक दिपेश जोशीको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले साहित्य लेखनले विद्यार्थीको औपचारिक शिक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

विद्यार्थीलाई अध्ययन र लेखनमा अग्रसर गराउने विद्यालयको राम्रो प्रयास भएको उहाँको भनाइ थियो । कार्यशालाकी सहजकर्ता अनुराधाले विद्यालय एउटा सुन्दर बगैंचा भएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘सुन्दर बगैंचारुपी विद्यालयमा बालबालिका बीउ हुन् भने उनीहरुलाई हुर्कन सहयोग गर्ने शिक्षकहरु मल हुन् । विद्यालय सञ्चालक माली हुन् ।’