विवादका बीच नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन हुनुभएको घोषणा गरिएको छ । आइतबार निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको घोषणा गरेपछि अध्यक्षका अर्का प्रत्यासी बद्रीप्रसाद लम्सालले आफ्नो उम्मेद्वारी यथावत् रहेको दावी गरेपछि विवाद देखिएको हो । निर्वाचन पद्दति जबरजस्ती होइन । पार्टी नेतृत्व चयन गर्नु भनेको केन्द्रीय निर्देशन हुबहु पालना गर्नु होइन । कार्यकर्ताको चाहना र आम नागरिकको चासोको विषय पनि हो । दलीय नेतृत्वले आफूलाई मात्र केन्द्रमा राख्ने पद्दतिले विवाद हुने गरेको छ । जसरी पनि आफू अनुकूलको निर्णयमा सहमत गराउने केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्ता पीडित बन्दै आएका छन् । जसले दलभित्र विद्रोहको मार्ग खुल्दै जान्छ ।

नेकपा एमाले मकवानपुरमा नयाँ नेतृत्व चयन त भयो तर निको नहुने गरी चोट पनि लागेको छ । विगतमा दश बुँदे सहमतिमार्फत् पार्टीमै रहेका समूहलाई केन्द्रदेखि नै एक्ल्याउने प्रयासले मकवानपुरमा पनि निरन्तरता देखिएको छ । आम कार्यकर्ताले निर्वाचन प्रक्रियाको माग गरिरहेको अवस्थामा निर्वाचन समितिले एकलौटी परिणाम घोषणा गर्नुले अनेक प्रश्न उठाएको छ । कुनै पनि दल वा संगठन निर्वाचन प्रक्रियाले कमजोर हुँदैनन् । लोकतान्त्रिक मान्यतामा जय र पराजयलाई सहजरुपमा लिने गरिन्छ । अर्को पक्षलाई असन्तुष्ट बनाइरहँदा आउने परिणामप्रति नेतृत्वले चासो दिएको पाइँदैन । पार्टीभित्रको आदेशात्मक पद्दति विरुद्ध विद्रोह गर्दा आज एमाले सत्ताबाट बाहिर पुगेको वास्तविकतालाई फेरि पनि नसच्याउने हो भने निरन्तर घाटा सहनुपर्ने हुन सक्नेछ ।

नेकपा एमाले मकवानपुरमा नेतृत्व चयनमा देखिएको संकीर्णता नेता र कार्यकर्ताको मात्रै पक्ष विपक्षको कुरा होइन । मकवानपुरका आम नागरिकले पनि यसलाई नियालिरहेका छन् । जनताका आवाज बोक्नुपर्ने राजनीतिक दलले आफ्नै कार्यकर्ताको आवाज नै बन्द गर्दै जानु उचित होइन । पार्टीभित्रको एकता कायम गर्न सहमति गर्ने गरिएको हो भने असन्तुष्टि कसरी आयो । दुबै पक्षसँग सहमति नगरी सर्वसम्मत नेतृत्व घोषणा गर्नुले एमालेभित्र मौलाउँदै गएको निषेधको राजनीतिको रुपमात्रै हो । दुवै पक्षलाई मान्य हुने शर्तका आधारमा मात्र सहमति हुन्छ । तर एउटा पक्ष असन्तुष्ट हुँदै गर्दा निर्वाचन समितिले कुन आधारमा सहमतिको घोषणा ग¥यो भन्ने प्रश्न इतिहासले पनि खोजी गर्नेछ ।

सहमतिका नाममा गरिएको घोषणा चितवन महाधिवेशनकै निरन्तरता हो । कार्यकर्ताहरुले निर्वाचन माग गरिरहँदा एकलौटी घोषणा गरेर जनभावना, कार्यकर्ताको चाहना र लोकतान्त्रिक पद्दतिको उपहास भएको छ । सहमतिलाई पनि लोकतान्त्रिक भनिन्छ, तर त्यसका लागि दुवै पक्षबीच सम्झौता हुन आवश्यक छ । परिणाम घोषणाप्रति आयोजक समितिका अध्यक्षसमेत रहेका बद्रीप्रसाद लम्सालको विज्ञप्तिले गम्भीर प्रश्न उठाइदिएको छ । केन्द्रीय नेतृत्वको ईच्छाविपरित जिल्ला नेतृत्व स्थापित हुने अवस्था बन्दै गएपछि एकाएक निर्वाचन पद्दति नै स्थगित गरेर मनोमानी परिणाम घोषणा गरिएको आशंका छ । यस्तै घटनाहरुले केही महिनाअघि एमालेभित्र भएको विद्रोहलाई पुष्टि गर्ने देखिन्छ । पार्टी बलियो बनाउन सबैको भावना समेट्न सक्नुपर्दछ ।