मुक्तक मञ्च मकवानपुरको पहिलो बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः मुक्तक मञ्च मकवानपुरले तीन वटा पुरस्कारको घोषणा गरेको छ । शनिबार सम्पन्न पहिलोे बैठकबाटै मञ्चका अध्यक्ष डीबी बर्तौलाले बुबाको स्मृतिमा ७ हजार ७ सय ७७ रुपैयाँ राशीको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’, गजलकार तथा मुक्तककार किसन पौडेलले बुबाको स्मृतिमा ५ हजार १ रुपैयाँ राशीको ‘तारा स्मृति मुक्तक पुरस्कार’ र गजलकार तथा मुक्तककार श्रीराम अधिकारीले हजुरआमाको स्मृतिमा ५ हजार रुपैयाँ राशीको ‘इन्दिरादेवी स्मृति मुक्तक पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ ।

पुस १७ गते शनिबार पहिलो अधिवेशनबाट बर्तौलाको नेतृत्वमा मुक्तक मञ्च मकवानपुर गठन गरिएको थियो । पहिलो बैठकले साहित्यकार आरआर चौलागाईं, ह्यग्रीव आचार्य, देवराज खरेल, दीपक गौतम र विश्वनाथ सञ्जेललाई सल्लाहकार चयन गरेको छ । यस्तै बैठकले साहित्यकार तथा शुभचिन्तकहरुलाई आग्रह गर्दै मुक्तकको श्रीवृद्धिका लागि अक्षय कोष निर्माण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले माघ ७ गते शुक्रबार जिल्लाभरका सरकारी तथा संस्थागत विद्यालयका विद्यार्थी र नेपाली विषयका शिक्षकलाई मुक्तक लेखनसम्बन्धी प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ । प्रशिक्षणपश्चात् फागुनमा मुक्तक प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो ।