भीमफेदीका दुई बस्ती जोड्ने झोलुङ्गे पुल शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष हिदम लामा ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपालिकाको ५ नम्बर वडाको दमार र सोलाभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको आइतबार शिलान्यास गरिएको हो ।

गाउँपालिका र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने पुलको लागत ५१ लाख रुपैयाँ रहेको भीमफेदी गाउँपालिकाका योजना अधिकृत बद्री सापकोटाले बताउनुभयो । झोलुङ्गे पुलको लम्वाई १ सय १४ मिटर हुनेछ । दमार र सोलाभन्ज्याङवासीलाई वर्षायाममा आवतजावत गर्न जोखिम हुने गरेको छ । वर्षायाममा विद्यार्थीहरु थप जोखिममा रहने गरेको योजना अधिकृत सापकोटाको भनाई छ । पुल निर्माणपछि स्थानीय जोखिममुक्त भई सहज यात्रा गर्न पाउने उहाँले दावी गर्नुभयो ।

झोलुङ्गे पुल निर्माण कार्य २०७९ साल असार मसान्तसम्ममा सक्नुपर्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शुक्र स्याङ्तानको सभाध्यक्षता तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनको पनि उपस्थिति रहेको थियो ।