विद्यालयको अभिभावक भेलामा सहभागी अभिभावक तथा विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुरको मनहरी—३, हाँडीखोलास्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको ५२ औं अभिभावक भेला शनिबार भएको छ । अभिभावकहरुले पालिकाको सबैभन्दा पुरानो विद्यालय भएकाले शिक्षाको गुणस्तरमा जोड दिन विद्यालयलाई सुझाव दिएका छन् । भेलाले चार जना अभिभावकलाई व्यवस्थापन समिति सदस्यमा सर्वसम्मत चयन गरेका छन् ।

सदस्यमा अष्ट कुमार बर्तौला, शिवहरि उप्रेती, सरिता सुवेदी र उर्मिला सुनारलाई चयन गरेको मनहरी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधी पूर्णभद्र भुषालले जानकारी दिनुभयो । १ वर्षअघि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नुपर्ने भए पनि हालसम्म चयन गर्न नसकिएको भुषालले बताउनुभयो । वडा प्रतिनिधी, शिक्षक प्रतिनिधी र शिक्षा विकास शाखाको प्रतिनिधी हुने गरी ७ सदस्यीय समिति निर्माण भएको बताउनुभयो । ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति मध्ये एक जनालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिने व्यवस्था छ ।

सोही अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केही समयपछि चयन गरिने उहाँले बताउनुभयो । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक गोकुलप्रसाद शर्माले १ करोड ३२ लाख रुपैयाँको आयव्याय विवरण प्रस्तुत गर्नुभएको छ । भेलामा करिब १ सय ७० जना अभिभावकको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चन्द्र बहादुर राईको सभाध्यक्षता तथा मनहरी ३ का वडाध्यक्ष विष्णु बहादुर थिङको प्रमूख आतिथ्यमा अभिभावक भेला भएको हो । विद्यालयमा ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । अभिभावक भेलामा मनहरी गाउँपालिकाको शिक्षा विकास शाखाका प्रमुख हरिचन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो ।