‘रक्तदान नै जीवनदान’ भन्ने गरिन्छ । एउटा व्यक्तिले प्रदान गरेको रगतले अर्को व्यक्तिको जीवन बचाउँदछ । अस्पतालको सेवा सुविधा थप हुँदै गएको र बिरामीको संख्या पनि वृद्धि भइरहेकोले रगतको आवश्यकता पनि बढिरहेको छ । पछिल्लो समय हेटौंडामा पनि रगतको माग बढ्दै गएकाले निरन्तरजस्तै रगतको अभाव भइरहेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा पनि ‘बी’ र ‘एबी’ पोजेटिभ समूहको रगतको मौज्दात कम रहेको छ । यसै सन्दर्भमा रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक प्रमुख टंक दाहालसँग समृद्व समाज राष्ट्रिय दैनिककी सम्वाददाता जमुना थिङले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः रक्तदान भनेको के हो ? रगतले हाम्रो शरीरमा कस्तो काम गर्दछ ? किन रक्तदान गर्नु उत्तम मानिन्छ ?
दाहालः स्व–इच्छाले रगत दान गर्नुलाई रक्तदान भनिन्छ । हाम्रो शरीर सञ्चालनका निम्ति रगत महत्वपूर्ण हुन्छ । मुटु, धमनी र रक्तकेशिका हुँदै बहने रगतले हाम्रो शरीरका तन्तुहरूमा इलेक्ट्रोलाइट, भिटामिन, पोषण तत्व, हर्मोन र अक्सिजन पुर्‍याउने कार्य गर्दछ । रगतले तन्तुहरूबाट फोहोर पदार्थ र कार्बनडाइअक्साइड बोक्ने काम पनि गर्दछ । शल्यक्रिया गर्दा, कुनै किसिमको दुर्घटनामा घाइते हुँदा बिरामीहरूलाई रगतको जरुरत पर्दछ । अरुको जीवन बचाउनुमात्र नभई रक्तदान गर्नाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । आफ्नै शरीरलाई स्वस्थ राख्नुका साथै रक्तक्यान्सर हुनसक्ने खतरालाई पनि कम गर्दछ । रक्तदान गरेमा कलेजो र अग्न्याशय (प्यान्क्रियाज) मा हुने समस्यालाई पनि कम गर्दछ । यतिमात्र नभई, मुटुसम्बन्धी समस्या र मोटोपनाको समस्यालाई पनि रक्तदानले कम गर्ने भएकाले रक्तदान गर्नु उत्तम हुन्छ ।

समाजः अझसम्म मानिसका लागि रगतको कृत्रिम विकल्प नभएको अवस्थामा रगतको उपलब्धता तथा माग कस्तो छ ? रगतको अभाव किन झेल्नुपरिरहेको छ ?
दाहालः अझसम्म मानिसका लागि रगतको कृत्रिम विकल्प बन्न नसकेको अवस्थामा रक्तदान गर्नु एकदमै महत्वपूर्ण हुन्छ । तर मकवानपुरमै रगतको अभाव देखिएको छ । बिरामीका लागि विभिन्न समूहका रगतको आवश्यकता पर्दछ । बिरामीको रक्तसमूह अनुसार रगत उपलब्ध गराउन नसक्दा रगत अभाव हुने गरेको छ । कुनै समूहको रगत मौज्दातमा बढी रहने र कुनै समूहको रगत अभाव हुने हुन्छ । ‘बी’ पोजेटिभ र ‘एबी’ पोजेटिभ रगतको कमी रहेको छ । यसैगरी ‘ओ’ पोजेटिभ र ‘ए’ पोजेटिभ समूहको रगत भने बढी रहेको छ । रक्तदान गर्नु हुँदैन भन्ने मानसिकता रहेको छ भने कतिपय मानिस रक्तदान गर्नसमेत डराउने गर्दछन् । रगत आफ्नो शरीरबाट अरुलाई दान गर्दा आफ्नै शरीरमा रगत कम भई कमजोरी हुन्छ भन्ने गलत मानसिकता छ । त्यसैले रगत मागअनुसार उपलब्धता हुन नसक्नु तथा शरीरमा केही असर पर्छ कि भन्ने डरले रक्तदानमा कमी भएकाले रगतको अभाव झेल्नुपरेको हो ।

समाजः रगत संकलन कसरी गर्दै आउनुभएको छ ? थप रगत संकलन गर्दा कस्ता रणनीति बनाउनुहुन्छ ?
दाहालः मकवानपुरका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्नुहुन्छ । जस्तैः जेसीज र लियो÷लायन्स क्लबहरुले साताव्यापी कार्यक्रम तथा विभिन्न दिवसहरुमा रक्तदान कार्यक्रम राख्ने गर्दछन् । क्याम्पसहरुमा पनि १८ वर्षदेखि २५ वर्षसम्मका विद्यार्थीले ‘क्लब २५’ भनेर रक्तदाताहरुलाई मोटिभेसन दिने गरेका छन् । रेडक्रस सोसाइटीमार्फत् रक्तदान कार्यक्रमलाई तिव्र बनाउन विभिन्न संघसंस्था र क्याम्पसहरुमा मोटिभेसन दिने कार्य गरिएको छ । रक्तदान गरेपश्चात् फलफूल, जुस र प्रमाणपत्रसमेत वितरण गरिँदै आएको छ । यसले थप रगत दान गर्न आउने व्यक्तिहरुलाई हौसल हुनेछ ।

समाजः मकवानपुरमा रगतको खपत कति छ ?
दाहालः रगत दान गर्न आउने व्यक्ति नै हौसलाका केन्द्र बन्न सकेकाले १६ सय युनिटसम्म रगत संकलन गर्न सकेका छौं । पहिले हेटौंडा हस्पिटलमा थोरैमात्र रगत आवश्यक हुन्थ्यो भने अहिले मेजर अपरेशन गर्ने भएकाले पहिलाभन्दा बढी रगत खपत हुन्छ । गत आर्थिक वर्ष २०७७/०८८ मा २ हजार २ सय युनिट रगत हेटौंडाबाटै सप्लाई गर्न सकिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनायता १ हजार २ सय युनिट रगत सप्लाई भइसकेको छ । २ हजार ५ सयदेखि ३ हजार युनिटसम्म रगत खपत हुने गर्दछ ।

समाजः कस्ता व्यक्तिहरुले रक्तदान गर्न मिल्छ ?
दाहालः भनिन्छ, ‘रक्तदान नै जीवनदान’, तर वास्तवमा सुरक्षित रक्तदानमात्र जीवनदान हुन्छ । किनकि अस्वस्थ मानिसले दान गरेको रगतले राम्रो भन्दा पनि नराम्रो परिणाम नित्याउँछ । रक्तदान गर्नुअघि आफ्नो शरीर जाँच गरेरमात्र रक्तदान गर्नुपर्दछ । १८ वर्षदेखि ६२ वर्षसम्मका मानिसहरुले मात्र रक्तदान गर्न मिल्छ । त्यस अवधिमा पनि ४५ केजी तौल भएको र स्वस्थ व्यक्तिले मात्र रगत दिन मिल्ने हुन्छ । व्यक्तिको रक्तचाप चेक गरेर रगत दिन मिल्छ या मिल्दैन र अन्य कुनै रोग लागेको/नलागेको भनि सोधपुछ गरेरमात्र रगत लिने गरिँदै आएको छ ।

समाजः रक्तसञ्चार केन्द्रले निःशुल्करुपमा रगत संकलन गर्दै आएको छ । तर विरामीले रगतको शुल्क तिर्नुपर्ने गुनासोसमेत सुनिने गरेको छ । यसप्रति के भन्नुहुन्छ ?
दाहालः रगत राख्ने प्याकेट, रगत संकलन गर्न पाइप किन्नुपर्ने हुन्छ । डोनरबाट लिएको रगतबाट स्क्रिनिङ गर्नुपर्ने हुन्छ । विभिन्न रोगहरुको परीक्षण गर्नुपर्ने र एचआईभी, हेपाटाइटिस ‘बी’ र ‘सी’ भीडीआरएल रोग परीक्षणका लागि खर्च हुने गर्दछ । त्यसका लागि केमिकल किन्नुपर्ने र लामो समयसम्म रगत स्टक राख्नुपर्ने भएकाले रगत किन्दा सामान्य शुल्क लाग्ने गर्दछ । रगतकै लागि भने पैसा पर्दैन ।