हेटौंडाः मंगलबार बागमती प्रदेश प्रमुखको कार्यालय हेटौंडामा ५ जना मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण भयो । प्रदेश मन्त्रीको सपथ ग्रहण कार्यक्रममा संचार माध्यमलाई समाचार संकलनमा रोक लगाइएको थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले बिहीबार एक विज्ञप्ती जारी गर्दै महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गराएर निजी संचार माध्यमलाई समाचार संकलन गर्न रोक लगाएको भन्दै निजी संचार माध्यमप्रति प्रदेश सरकारको अनुदार दृष्टिकोण रहेको प्रष्टाएको बताएको छ ।

‘सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुुसुचित गर्न संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनुका साथै प्रेस स्वातन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रेसलाई निर्वाध र स्वतन्त्र रुपमा संचार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धीत निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको महासचिव कृष्ण सारु मगरले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशले पटक पटक प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयतको सपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने पत्रकारहरुको अधिकारमाथि भएको प्रहारले प्रदेश प्रमुखको कार्यालय सञ्चारक्षेत्रमाथि निरंशुकता लाद्न उद्धत रहेको महासंघको ठहर छ । विज्ञप्तीमा भनिएको छ । यस अघि प्रदेश प्रमुखको कार्यालयलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण निर्माणका लागि पटक पटक आग्रह गरिकोमा त्यसको ठिक बिपरित समाचार संकलनमा अबरोध जारी रहेकाले यस विषयमा प्रदेश प्रमुखको कार्यालयको स्पष्ट धारणा समते माग गरिएको छ ।

आगामी दिनमा यस्ता कमजोरी सच्याई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण निर्माण नगरिए प्रदेश प्रमुखको कार्यालयको सबैखाले सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्न बाध्य हुने पत्रकार महासंघ बागमती समितिले चेतावनी दिएको छ । यसअघि नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र प्रेस चौतारी नेपाल मकवानपुर शाखाले संचार माध्यमका पत्रकारलाई समाचार संकलन गर्न रोक लगाएकोमा विज्ञप्ती निकालेर यस कार्यको घोर भत्र्सना गरेका छन् ।