हेटौंडाः हेटौंडा–१ मा सञ्चालित अर्थोपेडिक अस्पतालले आफ्नो नाम परिवर्तन गरेको छ । अस्पतालले आफ्नो नाम परिवर्तन गरेपनि अस्पताल परिसरमा भने नयाँ नाम र पुरानो नामको साइनबोर्ड राखिएको छ ।

गत वर्षदेखि अर्थोपेडिक अस्पतालबाट नाम परिवर्तन भई हेटौंडा मोडेल अस्पतालको नामबाट सञ्चालन भइरहेको अस्पतालले नवीकरण भने गरेको छैन । १० शैय्याको अनुमति पाएको अस्पतालले सो भन्दा बढी शैय्या सञ्चालन गर्दै आएको छ । बुधबार स्वास्थ्य कार्यालय मकवानपुरले हेटौंडा मोडेल अस्पताल, सिटी हस्पिटल, सहकारी अस्पताल र दुई वटा डेण्टलको अनुगमन गरेको छ । अनुगमनमा मोडेल अस्पतालले १५ बेडसम्मका लागि नवीकरण गर्न हेटौंडा उपमहानगरपालिकालाई निवेदन दिइसकेको पाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।

पुरानो अर्थोपेडिक अस्पतालको नाम परिवर्तन गरेर मोडेल अस्पतालको रुपमा सञ्चालन भइरहेको उहाँको भनाई छ । यस्तै मोडेल अस्पताललाई छिट्टोभन्दा छिट्टो नवीकरण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । मोडेल अस्पतालको नवीकरण भएसँगै २५ बेडसम्मका लागि अनुमति लिन अस्पतालले चाहेको उहाँको भनाई छ । उहाँले अस्पतालको नाम परिवर्तन गरिसकेकाले पुराना बोर्ड हटाउन पनि निर्देशन दिइएको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले भने नगर कार्यपालिकाले निर्णयले गरेपछि मात्रै अस्पतालको नवीकरण हुने बताउनुभयो । मोडेल अस्पतालले नवीकरण गर्नका लागि हेटौंडा उपमहानगरमा निवदेन दिएपनि हालसम्म पनि उपमहानगरले त्यसको निर्णय गरेको छैन ।

यस्तै, हेटौंडा–१ मा सञ्चालित सिटी हस्पिटलले पनि १५ शैय्या सञ्चालन गर्दै आएको छ । सिटी हस्पिटलको पनि नवीकरण गर्न बाँकी भएको अनुगमनमा पाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यस्तै सहकारी अस्पतालले पनि नवीकरण गर्न बाँकी रहेकाले सबैलाई नवीकरण गर्न निर्देशन दिइएको छ । मकवानपुर सहकारी अस्पतालले २५ शैय्याको अस्पताल सञ्चालन गर्दै आएको छ । सहकारी अस्पतालले अपग्रेड गर्दै ५० शैयाको अस्पतालका रुपमा विस्तार गर्ने जनाएको छ । जिल्लामा सञ्चो अस्पताल र चुरेहिल अस्पताल २५ बेड सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले बाहिर दर्ता नै नगरी अस्पताल सञ्चालन गरेको हल्लामात्र भएकोे टिप्पणी गरेको छ । कुनै स्वास्थ्य संस्था दर्ता नै नगरी सञ्चालन भएको भए अनुगमन टोलीले त्यस्तो स्वास्थ्य संस्थालाई बन्द गर्ने चेतावनी स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख उपाध्यायले दिनुभयो । यसै सन्दर्भमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिनादर्ता सञ्चालनमा रहेका अस्पताल, स्वास्थ्य केन्द्रहरु सबै बन्द हुने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई त्यस्ता स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न निर्देशन दिएकोसमेत उहाँले बताउनुभयो ।