अन्तरक्रियामा सहभागी हुँदै एक विद्यार्थी ।

हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल मकवानपुरको आयोजनामा साथै एस्थर बेन्जामिन स्मृति संस्था, बाल कल्याण समाज मकवानपुर र मेन र्ईगेज एलायन्स नेपाल मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको राष्ट्रिय माविमा बाल क्लबका जिम्मेवार बालबालिकाहरु बीच बालबिबाह अन्त्यका लागि शिक्षाको महत्व विषयक अन्तरक्रिया भएको हो ।

लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानअन्तर्गतको ‘घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने मूल नाराका साथ राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भएको अन्तरक्रियामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको प्रमुख आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संजाल मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय माविका प्रधानाध्यापक सुुरेश लामाको आतिथ्य रहेको थियो ।

अन्तरक्रियामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक तथा मेन ईंगेज एलायन्स मकवानपुरका संयोजक प्रकाश खतिवडाले सहजीकरण गर्नुहुँदै बालविवाह, बालबालिका बिरुद्ध हुने लैंगिक हिंसाका विषयमा जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा सहभागी बालबालिकाले बालविवाह अन्त्य गर्न बालबलिकाकै महत्वपूर्ण भूमिका हुने भएकोले आफूहरु पनि बालविवाह नगरी पढाईमा एकाग्र रहने बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल मकवानपुरका संयोजक बुद्धवीर लामाले बालविवाहका कारण हुन सक्ने समस्या र यसलाई रोकथाम गर्न बालबालिकाकै भूमिका हुने प्रष्ट भएकोले बालबालिकाले शिक्षालाई निरन्तरता दिँदै अन्य बालबालिकाहरुलाई समेत प्राप्त सिकाई सन्देश अन्य बालबालिकालाई समेत दिलाई बालविवाह अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्न आग्रह गर्नु भयो । उहाँले बालविवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेकोमा सबै बालबालिकाहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।