दुबईमा उद्दार गरिएका बिक्रम जिम्बा ।

हेटौंडाः वैदेशिक रोजगारीका क्रममा दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलाका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् ।

दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए । उनको उपचारको क्रममा पेटको अप्रेशन भयो । साथै उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसाहारा बनेका थिए । अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि जिम्बा अलपत्र अवस्थामा थिए । हाँडीखोला स्थायी निवासी अर्जुन सुनामले जिम्बाको नाजुक अवस्थाबारे जापानमा रहेका श्रीराम रिजाललाई जानकारी गराए ।

हाँडीखाला निवासी रिजालकै संयोजकत्वमा जिम्बालाई नेपाल फर्काउनका लागि आवश्यक रकम जोहो गर्ने अभियान सुरु भयो । करिब एक हप्ताको अवधिमा रिजालको नेतृत्वमा करिब एक लाख रुपैयाँ जुटाएर उनलाई नेपाल फर्काइएको हो । ‘भाइको नेपालमा पनि कोही अभिभावक रहेनछन् । उनी हाँडीखोलामा ठूलोबाको घरमा बस्ने रहेछन् । अलपत्र भएपछि पैसा खर्च गरेर उद्दार गरिदिने कोही नभएपछि हामीले पहल गरेर नेपाल फर्काउन सफल भयौं’, रिजालले भने । उनको थप उपचारका लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेब ज्योतिराज लुइटेल लगायतको टिमले पहल गरिरहेका छन् ।