हेटौंडाः जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिन आइतबार तीनवटा कार्यक्रम भएका छन् । आइतबारको पहिलो कार्यक्रमको रुपमा महिला स्लोस्कुटी प्रतियोगिता सम्पन्न भएको छ ।
प्राचौरबाट सुरु भएको एक सय मिटर प्रतियोगितामा प्रथम श्रीषा ढकाल, द्वितीय वर्षा गौतम र तृतीय पुष्पा क्षेत्री भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङको प्रमुख अतिथ्यता रहेको प्रतियोगिता सरस्वती थिङको संयोजकत्वमा सम्पन्न भएको छ । यसैगरी, महिला मयूरी र अटोचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना तथा ३५ जनालाई सेफ्टी ज्याकेटसमेत वितरण गरिएको छ । दुर्घटनाका घटनाहरु बढिरहेको अवस्थामा दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले दयाराम गौतमले ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्नुभएको हो । सचेतना कार्यक्रम स्वेच्छा दंगालको संयोजकत्वमा भएको थियो।
यस्तै महिलाहरुका लागि दुई दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ । घरमै बसेर उत्पादनमूलक काम गर्दै स्वरोजगार बन्न मद्दत गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरिएको हो । दालमोठ र टमाटो सस बनाउने दुई दिने तालिम आइतबार सुरु भएको छ ।
रञ्जिता पुडासैनीको संयोजकत्वमा भएको कार्यक्रममा २५ जना सहभागी थिए । कार्यक्रम जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।