वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१) शैक्षिक सत्र २०७७ को विधिवत थालनी नै मंसिरबाट भएकाले २ महिना थपेर जेठसम्म लाने सरकारी निर्णय पहिले नै बाहिर आएको सन्दर्भमा हामीले वार्षिक परीक्षा र नतिजा प्रकाशन जेठ महिनामा सक्ने गरी योजना बनाउका थियौं । कक्षा १० को एसईई र १२ को परीक्षा कार्यक्रम क्रमशः जेठ १३ र २३ गतेबाट गर्ने गरी परीक्षा बोर्डले तालिका प्रकाशन गरेको थियो । जब चैतदेखि नै कोभिडको दोश्रो लहरको प्रकोपको चर्चा यहाँ शुरु भयो । यसको पछाडिको कारण भनेको भारतमा कोभिडको कारणले हजारौंको ज्यान गैसकेको थियो ।

दिनदिनै लाखौं संक्रमितको समाचार बाहिर आइरहेको थियो । हामीमा अत्यास र आशंका उब्जन थाले । भारतसँगको खुल्ला सिमाना र अनियन्त्रित ओहरदोहोर नै हाम्रा लागि घातक बन्ने टड्कारो अवस्था देखियो । यिनै कोभिडकालको भयावह स्थितिको आपसमा छलफल विश्लेषण गर्दै वैशाखको ९ गतेबाट वार्षिक परीक्षा लिने निर्णय गर्यौं । एक सातामा अनपेक्षित रुपमा कोभिड संक्रमण अन्यत्रसँगै हेटौंडामा डँढेलो झैं फैलिएकै हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७८ वैशाख १३ गतेदेखि शिक्षण संस्थाहरु पूर्णरुपमा बन्द गर्न आदेश गरेपछि हामीले चलिरहेको परीक्षा बिचैमा रोक्न बाध्य भयौं । बिगतको भन्दा यो भेरियण्ट डरलाग्दो र एकाध हप्तामै संक्रमण घरघरै जस्तो बाक्लो बन्यो ।

२) यस वर्षको पनि एसईई र कक्षा १२ को घोषित परीक्षा तालिका परीक्षा बोर्डबाट स्थगित भयो । भटाभट मान्छेहरु ढल्न थाले । स्थिति थप भयावह बनेकै हो । केहिदिनमा कम होला र परीक्षा नियमित गरी आफ्नो नियमित कर्म गरौंला भन्ने हाम्रो सोच थियो । तर, अवस्था दिनदिनै नाजुक बन्दै गयो । यस बीचमा हामीले अनलाईन स्टाफ वैठक गर्‍यौं । बाँकी विषयको परीक्षा लिन सक्ने स्थिति नभएको टुंगोमा हामी पुग्यौं । परीक्षा सम्पन्न भैसकेका विषयहरुको मूल्यांकनमा हामीलाई समस्या भएन । बाँकी परीक्षाको हकमा त्रैमासिक तथा अर्धवार्षिक र कक्षाकार्य, हाजिरी, प्रोजेक्ट वर्क, विद्यार्थीको सिकाईस्तर आदिको आधारमा वार्षिक परीक्षाको समग्र मूल्यांकन गर्ने निर्णय गर्‍यौं । सो अनुसारको नतिजा तयारी गरियो ।

२०७८ जेठ १४ गतेबाट कक्षागत रुपमा नतिजा प्रकाशन गर्ने निर्णय गरी पाठ्यपुस्तक व्यवस्थापनमा समेत हामी जुट्यौं । जेठ महिनाभरमा नतिजा दिईसक्ने, निशुल्क किताब वितरण गर्ने र असारबाट सरकारले निर्देश गरेबमोजिम नयाँ शैक्षिक सत्रका शैक्षिक गतिविधि अनलाईन विधिबाटै शुरु गर्ने निर्णय गरियोे । असारको पहिलो हप्ताबाट विधिवत अनलाईन कक्षा थाल्ने निर्णयलाई कार्यान्वयनमा जाने तयारीमा हाम्रो शिक्षक टिम जुट्यौं । शुरुमा कक्षा ६ देखि माथि अनलाईन कक्षा गर्ने र नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ पालैपालो भौतिक रुपमै विद्यालयमा बोलाएर २ घण्टा सम्पर्क कक्षा चलाउने अर्को निर्णय गर्‍यौं । यी निर्णयमा व्यवस्थापन समिति तथा वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्बन्धित कक्षाका अभिभावकहरुको सहमति लिने काम पनि हामीले सँगसँगै ग¥यौं ।

३) यस पटक बिगत झैं कक्षा संचालनको चिन्ता कम थियो, कारण हामी प्रविधि मार्फत शिक्षण गर्न सक्षम बनेका छौं । कोभिड संक्रमण र डरलाग्दो भेरियण्टसँगै धेरै ब्यक्तिको ज्यान लिइरहेको भाईरस आतंक यस क्षेत्रमा बढेकै हो । जबकि कोभिडको पहिलो आक्रमणको झण्डै ९ महिनाको अवधिमा करिब ३ हजार जना यसका शिकार भएकोमा दोश्रो भेरियण्ट भनिएको कोभिड लहरको कारणबाट ३ महिनाको अवधिमा झण्डै ६ हजार जनाको ज्यान गुमिसकेको थियो । यो तथ्यांक आम समुदायलाई अत्यन्त भयभित गराउने भएकाले हामी पनि मिनेट मिनेटमै आत्तिएकै थियौं ।

२०७८ असार ४ गते पहिलो पटक अनलाईन अभिभावक वैठक सम्पन्न भयो । यद्यपि सहभागिता भने अपेक्षित हुन सकेन । असार ६ गतेबाट अनलाईन कक्षाको अतिरिक्त बाँकी नतिजा वितरणको निरन्तरता गर्दै, पाठ्यपुस्तकसँगै दिने र नयाँ भर्नाका विद्यार्थीका लागि प्रवेश परीक्षा संचालन समेत गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्दै शैक्षिक सत्रको पहिलो महिना असार बितायौं । विद्यालय प्रशासनिक काम बन्द गरिएन । अभिभावकलाई फोन गर्ने, विद्यार्थीलाई अनलाईनमा जोड्ने, अनलाईनबाटै विद्यार्थी उपस्थितिको अभिलेख राख्ने, होमवर्क परीक्षण गर्ने जस्ता काम यस अवधिमा सुचारु गरियो ।

४) कोभिड संक्रमणको गति तिब्र र घरघरै आक्रमण हुन लागेकाले श्रावणको पहिलो साताबाट नर्सरीदेखि नै अनलाईन कक्षा संचालन गर्ने र विद्यालयमा हुने भौतिक उपस्थितिका प्राथमिक तहका सम्पर्क कक्षाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरियो । आधारभूत तहका खासगरी नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीसँगै अभिभावक बसेर सहजीकरण गरेको कक्षाहरु थप प्रभावकारी भएको देखियो । अभिभावकको बेफुर्सदीपनसँगै विपन्नताका कारणले उपस्थिति भने अपेक्षित भएन । उपस्थिति बढाउन फोन सम्पर्क लगायतका प्रयत्नहरु जारी राखिएको छ । यस अवधिमा विद्यार्थीको ड्रपआउट दर उल्लेख्य रहेको र समुदायमा बाँचे अर्को वर्ष पढाउने भन्ने चर्चाले पनि स्थान पाएको देखियो । नयाँ भर्ना पनि बिगत भन्दा धेरै कम रहेको हाम्रो अनुभवले बताएको छ ।

यसपटक पनि टिभि, रेडियोको कक्षातर्फ विद्यार्थीहरुको आकर्षण फितलो देखियो । हामीले ईन्टरनेटको पहुँच नभएका विद्यार्थीहरुलाई टिभि रेडियोको कक्षा तालिका वितरण गर्‍यौं । एउटै कक्षाका विद्यार्थीहरु छिमेकमा वा टोलमा एउटै डिभाईसको प्रयोगमा जोडिने सल्लाह दिएका छौं । एकै परिवारमा भिन्न कक्षाका विद्यार्थीको सुविधाका लागि सम्भव भएसम्म तालिका मिलाएर सहयोग गर्ने प्रयत्न हामीबाट भएको छ । डिभाईस तात्ने, लगातार प्रयोगले डिभाईसमा समस्या आउने र सम्बन्धित विद्यार्थीलाई पनि एकोहोरो बनाउने भएकाले प्रत्येक कक्षापछि १० मिनेट ब्रेक राखेका छौं । अनिवार्य विषयहरु बाहेकका विषयहरुलाई हप्तामा २ वा ३ पिरियड मात्र कक्षा व्यवस्था गरेका छौं । यसपटक हामी टोलटोल र चोकहरुमा जाने अनि विद्यार्थी जम्मा गरेर पढाउने सिकाउने काम गरेनौं । नेपाल टेलिकमको सियुजी सेवामा पनि समस्या देखियो । प्रत्येक विद्यार्थीका अभिभावकको नगरिकता प्रतिलिपि संकलन गर्न झञ्झट भयो र यो काम हामीले बीचैमा रोक्यौं । अभिभावकहरुले हामी अनलाईनमै जान्छौं बरु कतैबाट ईन्टरनेट भने निशुल्क भैदिए हुन्थ्यो भन्ने आवाज उठाए ।

५) भौतिक उपस्थिति सरह जे गर्दा पनि नहुने र प्रदेश नं. २ मा विद्यालय बन्द नै नभएको उदाहरण दिँदै पछिल्लो अवस्थामा विद्यालयमा नै बोलाईदिन पनि माग उठेको छ । हाम्रो क्षेत्रमा पनि केहि निजि विद्यालयहरुले विद्यालय खुल्ला गरी विद्यार्थीहरु बोलाएर पढाई सुचारु गरेकोले पनि थोरै समस्या बनेको हो । अभिभावकहरु कोहि विद्यालय खोल्नै नहुने र कोहि भने सावधानीपूर्वक सम्पर्क कक्षा संचालन गरिदिए हुन्थ्यो भनेर दुईभागमा विभाजित भएको अवस्था पनि देखियो । यता जिल्ला प्रशासन कार्यालयले कडाईका साथ प्रत्येक साता विज्ञप्ति जारी गर्दै निषेधाज्ञासँगै बन्द गर्न आदेश गरिरहेको बेला केहिलाई कारबाहि गरेर ठूलै त्रास फैलाउने काम पनि भयो । अनलाईन शिक्षक–कर्मचारी वैठक भने प्रत्येक शुक्रवार साँझ नियमित संचालन गर्‍यौं । वैठकमा विद्यार्थी उपस्थिति, सिकाई सहजीकरणको प्रभावकारिता लगायतका विषयमा छलफल जारी राख्यौं ।

दोश्रो भेरियण्टले हाम्रा केहि साथीहरु स्वयम् र परिवारमा समेत प्रभावित भएकाले पनि अनलाईन कक्षाहरु अपेक्षित सफल हुन सकेनन् । यस क्षेत्रमा सडक बिस्तारको कारणले केहि महिनादेखि विद्युत तथा ईन्टरनेट सेवाको अनियमितता पनि हाम्रो अनलाईन कक्षाको बाधक बनेकै हो । शिक्षकले विद्यालयमै उपस्थित भएर अनलाईन कक्षा चलाउन सम्भव छ कि भन्ने प्रयत्न भने सफल भएन । पछि, घरघरबाटै फोन र मेसेञ्जरको प्रयोगबाट सक्दो प्रयत्नका साथ अनलाईन कक्षामा दिन दिनै विद्यार्थी सहभागिता बढाउने काम भएको गरियो । उल्लेखित असहज र विषमताको सामना गर्दै स्वास्थ्य सावधानीमा सक्दो सचेत रहेर हामीले २०७८ भाद्र २७ गतेबाट भौतिक उपस्थितिमै कक्षा संचालन थाल्यौं । यो कक्षा बिगत झैं ४ बजेसम्म नगरी, ब्रेक र टिफिन हटाएर हरेक पिरियडमा ५ मिनेट समय कटाएर लगातार कक्षा गर्दै कक्षा ५ सम्मका विद्यार्थीका दिवा खाजा पनि रोकेर २ः१५ मा छुट्टी गर्दै तिहारदेखि छठ पर्व बिदासम्म जोड्ने काम गर्यौं । अब भने, बिगतको सामान्य अवस्थामा झैं पुरै समय विद्यालय संचालन गर्नेतर्फ बढिरहेका छौं ।