जनसंख्याको विस्तृत तथ्यांकलाई एकीकृत गर्न जनगणना गर्ने गरिन्छ । विश्वका सबै देशले जनताको वास्तविक जानकारी लिन जनगणना गर्ने गरेको छ । देशको जनसंख्याको अवस्थाबारे जनाकारी लिने र सोही अनुसार राज्यले नीति, नियम, योजना र कार्यक्रम बनाउने गर्दछन् । नेपालमा पनि यही मान्यता अनुसार विक्रम सम्वत् १९६८ सालदेखि प्रत्येक दश वर्षमा जनगणना हुँदै आएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२ औँ राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेदेखि सुरु भएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री पारिवारिक विवरण संकलनसँगै अभियान सुरु भएको हो । ठूला अभियानहरु उपल्लो दर्जाका नागरिकबाटै सुरु गर्ने परम्परा छ । यस पटक पनि त्यही भएको छ ।
दुर्गम स्थानको सबै भन्दा पछाडि पारिएको तथा आर्थिक रुपमा विपन्न परिवारबाट सुरु गएको नयाँ सन्देश जाने थियो । जहाँबाट भए पनि गणना सुरु भएको छ । यसलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउन आवश्यक छ । मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । ८० वटा प्रश्नावली मार्फत विवरण संकलन गरिने भएको छ । प्रश्नहरुको सही जानकारी आउन सक्छ वा सक्दैन भन्ने मूल प्रश्न हो । तथ्यांकलाई आशंकारहित बनाउन गणकहरुको भूमिका महत्वपूर्ण हुन्छ । सबै घरमा पुग्ने र परिवारको मूली मानिस जोसँग सबै विवरण लिन सकिन्छ उसैलाई भेट गर्न आवश्यक हुन्छ ।
सरकारले सबै नागरिकलाई गणकहरुलाई सही तथ्यांक उपलव्ध गराउन आग्रह गरेको छ । तर जनता गणनाप्रति कति सचेत र जागरुक छन् भन्ने प्रश्न गम्भीर छ । विवरण दिएर के हुने हो र भन्ने आम धारणा छ । यसमा परिवर्तन ल्याउन राज्यका तर्फबाट गणनाको महत्व बारे जानकारी दिने काम कति भयो ? गणकहरुले सोधेको प्रश्नको उत्तर नदिए वा गलत विवरण दिए वा वेवास्ता गरेमा त्यसबाट राज्य र स्वयम् नागरिकलाई हुने नोक्सानी वा फाईदा बारे कति नागरिक जानकार छन् ? यस विषयमा राज्यले पूर्व तयारी कति गरेको छ । गणकहरु आउँदै छन् विवरण उपलव्ध गराईदिनु भन्ने सूचनालाई नागरिकले कति जिम्मेवार ठान्ने हुन् ? विवरण दिनै पर्ने कारण बारेमा सचेतना अभियान खै ?
जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने भनिएको छ । तर यो जानकारी सबै नागरिकसम्म पुर्याउन सकिएको अवस्था छैन । राज्यका लागि अति महत्वपूर्ण विवरण भएकाले यसलाई सत्य र तथ्यमा आधारित बनाउने जिम्मेवारी सबै नागरिकको हो । समाजमा भएका बसै पक्षको भूमिका हुन आवश्यक छ । यसका लागि पनि सरकारले समन्वयकारी भूमिका खेल्नु जरुरी छ । गणकहरुले कुनै एक घरमा बसेर टोलभरिकै विवरण भर्ने गरेको विगत यस पटक नदोहोरियोस् भन्ने पक्षबाट नागरिक सचेत हुनु पर्दछ । सम्पूर्ण नागरिकले आफ्नो वास्तविक तथ्य राज्यलाई जानकारी गराएर भावी योजना र कार्यक्रम तथा नीति निर्माणमा योगदान दिनु आम नेपालीको दायित्व र जिम्मेवारी हो ।