नवप्रवेशीहरुलाई स्वागत गर्नुहुँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँ ।

हेटौंडाः राप्रपाका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरगढी र इन्द्रसरोवरका १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा राप्रपा मकवानपुर जिल्ला सदस्य इन्द्रसरोवर–२ का हरिकृष्ण सापकोटाका साथै मकवानपुरगढी–७ का मदन लामा, धावा लामा, ज्ञानबहादुर रुम्बा, मकवानपुरगढी–२ का १० जना रहेका छन् ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्नुभएको छ । नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, प्रदेश सभा सदस्य देवीप्रसाद तिमल्सिना, मकवानपुरगढी–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, मकवानपुरगढी–२ का वडा सदस्य रामप्रसाद पुडासैनी, संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तान, हेटौंडा उपमहानगर समितिका निवर्तमान सभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।