नेपाली संस्कृति विश्वमै अनुपम छ । जुनसुकै समुदायसँग सम्बन्धित पर्वहरु सबै समुदायले समान सहभागितामा मनाउने गर्दछन् । समुदायको यही विशेषताले सबै चाडपर्वहरु साझा बन्दै आएको छ । सामाजिक सद्भावका लागि नेपाली धार्मिक विश्वास र आस्थाले भूमिका खेलेको छ । समाजमा रहे–बसेपछि सबै समुदायको संस्कार र संस्कृतिलाई अपनत्व लिनु नै नेपालीहरुको विशिष्ट विशेषता हो । समुदायबीचको यी एकता नै विश्वमा उदाहरण बन्ने गरेको छ । विभिन्न जातजाति, भाषाभाषीहरु विभिन्न क्षेत्रमा रहे पनि चाडपर्व मनाउने क्रममा सबै नेपालीको समान मान्यता देखिँदै आएको छ । चाडपर्वले सामाजिक सद्भावका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । साझा चाडका रुपमा मनाइनेमध्ये तिहार पनि हो । उज्यालो पर्वका रुपमा सबैले हर्षोल्लासपूर्ण मनाउने गर्दछन् ।
चाडपर्वहरुमध्ये तिहारको विशेष महत्व छ । नेपालीले आफ्नो परम्परा र सामाजिक मान्यताअनुसार मनाउने गर्दछन् । पाँच दिनसम्म मनाइने यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन सन्देशबाहकका रुपमा काग, दोस्रो दिन रक्षकका रुपमा कुकुरको पूजा गरिन्छ । तेस्रो दिन गाईलाई पूजा गरिन्छ । गाईलाई गौमाता भन्दै आमाका रुपमा पुज्ने गरिएको हो । यही दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गोवर्धन पर्वतको पूजा हुन्छ । खेतीपातीका लागि महन्वपूर्ण योगदान दिने गोरुलाई यही दिन पुज्ने गरिएको छ । तिहारको अन्तिम दिन भाईटीका लगाउने प्रचलन छ । पर्वका रुपमा प्रकृतिदेखि जनावरलाई समेत मानव अस्तित्वका सहायकका रुपमा पूजा गर्नु मौलिक विशेषता हो ।
चाडपर्वले सामाजिक सद्भाव विकास गराउँदै आएको छ । समाज र समुदायका फरक पर्वहरु भए पनि सबैले आत्मसात गरेपछि साझा पर्वका रुपमा मानिँदै आएका छन् । धार्मिक र ऐतिहासिक महत्व र विशेषता भएका यस्ता पर्व मनाउने क्रममा पछिल्लो पुस्ता बेखबर हुने जोखिम बढ्दै गएको छ । पर्वहरुको सांस्कृतिक र ऐतिहासिक मान्यताको प्रचार कम हुँदै गएको छ । पश्चिमा संस्कृतिले गर्दा नेपाली मौलिकता कमजोर हुने त हैन भन्ने शंका छ । तिहारमा खेलिने भैली तथा देउसीको आफ्नै महत्व छ । तर अब विकृति बन्ने अवस्थामा पुगेका छन् । चन्दा उठाउनका लागि यो संस्कृतिको रुपान्तरण हुने खतरा बढेको छ । प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई चाडपर्वको विशेषता र मौलिकताबारे जानकारी दिनु आजको आवश्यकता हो ।
पारिवारिक भेटघाटले मात्र पर्वहरुको महत्व रहन्छ । तिहार दाजुभाइ र दिदीबहिनीसँग सम्बन्धित छ । तिहारकै लागि भन्दै चेलीबेटीहरु माइत वा दाजुभाइहरु दिदीबहिनीको घर पुग्ने गर्दछन् । चेलीबेटीको घरमा दाजुभाइ गएर भाइटीका लगाउनुको पनि ऐतिहारिक तथा धार्मिक विशेषता छ । भेला हुँदै गर्दा कोरोना महामारीलाई बिर्सनु हुँदैन । दुई बर्षदेखि विश्वलाई आतंकित पारेको महामारी केही कम भएको छ । तर अन्त्य भएको अवस्था हैन । त्यसैले यात्रा गर्दा होस् वा भेटघाट गर्दा स्वास्थ्य मापदण्ड पालना गरिनुपर्दछ । चाडपर्व मनाउँदै गर्दा महामारीले नयाँ रुप लिने अवस्था आउन नदिन प्रत्येक नागरिक होशियार हुनै पर्दछ । यही होशियारीका साथ उज्यालो पर्व तिहारको शुभकामना ।