फाइल तस्बिर

हेटौंडाः अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा समुह चरणको पहिलो खेलमा हेटौंडा उपमहानगरपालिका पराजित भएको छ । बुधबार बिहान भएको खेलमा गैडाकोट नगरपालिकासँग हेटौंडा १–० गोलअन्तरले पराजित भएको हो ।

खेलमा सुरुवाती समयदेखि नै दवाबमा रहेको हेटौंडाले पहिलो हाफको खेल गोलरहित बराबरीमा खेलेपनि दोस्रो हाफमा १ गोलले पछि परेको थियो । खेलमा दुबै टिमबाट थप गोल हुन नसक्दा खेल १–० गोलको नतिजामा समाप्त भएको थियो । खेलको ५५ औं मिनेटमा गैडाकोट नगरपालिकाकी रितु तामाङले गोल गरेकी थिइन् । समुहचरणको खेलमा जीत हासिल गर्दै गैडाकोटले ३ अंक जोडेको छ । यस्तै हेटौंडाले समुह चरणको दोस्रो खेल कार्तिक १२ गते तुलसीपुर नगरपालिकासँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि ३१ टिमलाई एन्फाले १० समुहमा विभाजन गरेको छ । समुह ए मा ४ टिम रहको छ भने हेटौंडा रहेको समुह एफसहित अन्य समुहमा ३ टिममात्र रहेका छन् । समुह चरणको खेलपश्चात समुहको शिर्ष स्थानमा रहने टिमहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । छनोट प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । प्रतियोगिताकको विजेता तथा उपविजेता टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा समेत स्थान बनाउनेछन् ।