हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)को ५४ औं र ५५ औं वार्षिक साधारणसभा आज आइतबारबाट सुरु हुँदैछ । आइतबार र सोमबार साधारणसभा एवम् ९ गते मंगलबार निर्वाचन हुनेछ । यसअघि पटकपटक कोभिड–१९ जोखिमका कारणले स्थगित हुँदै आएको संघको साधारणसभा हुने भएको हो ।

शनिबार मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार राजकुमार न्यापानेले आसन्न निर्वाचनको संघारमा आफ्नो प्रतिवद्धतासहित आफ्नो प्यानलको घोषणा गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत भइसकेको न्यौपानेले वर्तमान कार्यसमितिको सिन्डिकेट तोड्न निर्वाचनमा होमिएको बताउनुभयो । व्यवसायीको समस्यामा सहयोग गर्दै व्यवसायीलाई साथ दिँदै आउनुभएका न्यौपानेले केन्द्रमा जाने ढोका वर्तमान उद्योग वाणिज्य संघले बन्द गरेसँगै मैदानमा आउनुपरेको बताउनुभयो ।

न्यौपानेले एक महिलासहित ४ जना उपाध्यक्षहरुलाई अघि बढाउनुभएको छ । आफ्नो प्यानलमा वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, एसोसिएटतर्फको उपाध्यक्षमा उज्ज्वल चौलागाईं, उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारीलाई अघि बढाउनुभएको छ ।

शनिबार एक कार्यक्रम गर्दै चारै उपाध्यक्षका उम्मेदवारहरुले आफ्नो समूहका सदस्यहरुको समेत व्यवसायीमाझ परिचय गराएका थिए । न्यौपाने प्यानलबाट मउवासंघको वाणिज्यतर्फको सदस्यहरुमा माधव ज्ञवाली, दिवस पराजुली, बालकृष्ण बजगाई, नेत्रप्रसाद खतिवडा, सुदर्शन खरेल, विष्णुप्रसाद दाहाल, हरिनारायण ठाकुर, राजु राउत, मनु दाहाल, नेत्रकुमारी भट्ट अग्रवाल छन् । यसैगरी एसोसिएटतर्फका सदस्य पदको उम्मेदवारमा अशोककुमार राउत, नवराज खतिवडा, राजु थापा र रामशरण दुलाल रहेका छन् । त्यस्तै वस्तुगततर्फको सदस्यहरुमा तेजराज अधिकारी, अजिव भट्टराईको उम्मेदवारी रहनेछ । उद्योगतर्फको सदस्यहरुमा ज्ञानेन्द्र बर्तौला, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, मेनका श्रेष्ठको उम्मेदवारी रहने बताइएको छ ।

यता मउवासंघको निर्वाचनमा कृष्णकुमार गुप्ता (अग्रवाल) र महेन्द्र राउतको पनि अध्यक्षमा उम्मेदवारी हुने यसअघि घोषणा गरिसकेका छन् । अध्यक्षका उम्मेदवार गुप्ताले ४ दशक मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न तहतप्कामा रहेर काम गरेको र व्यवसायीहरुको माग रहेकाले आफूले अध्यक्ष पदमा चुनाव जित्ने दाबी गर्नुभएको छ ।