हेटौंडाः पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिदा १ जनाको मृत्यु भएको छ । बुधबार करिब ३ बजे भएको दुर्घटनामा परी थप ३ जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्रदेश ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने मेसिन अनियंत्रित भई सडक छेउमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मेसिनमा सवार ४ जना मध्ये चालकको मृत्यु भएको र हालसम्मपनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

मेसिनमा सवार भई घाइते भएका ३ जनालाई प्रहरी पुग्नु अगावै उपचारका लागि स्थानियहरुले हेटौँडा अस्पताल पठाइएको जनाएपनि उनीहरुलाई हेटौंडाको कुनैपनि अस्पतालमा नभेटिएको पनि उहाँले बताउनुभयो । मृतक चालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घाइतेहरुको खोजी कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ ।