हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय हेटौंडा–६ गौरीटारमा सारिएको छ । शुक्रबार सामाजिक विकास मन्त्री विजय सुवेदीले गौरीटारमा रहेको साढे ३ तल्ले भवनको उद्घाटन गर्नुहुँदै प्रदेश खेलकुद विकास परिषद्को कार्यालय शुभारम्भ गरिएको हो ।
संघीय सरकारको बजेटमा निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि औपचारिक रुपमा पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्को कार्यालय रहने गरी उद्घाटन भएको हो । यसअघि उक्त भवनलाई कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको थियो । भवनमा रहेको ३९ वटै कोठालाई कार्यालयले प्रयोग गर्ने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
यस्तै उक्त भवनमा ९ वटा खेलकुदका प्रदेश स्तरका कार्यालय समेत रहने उहाँले बताउनुभएको छ । फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते, व्याडमिन्टन र स्विमिङ खेलका प्रदेश संघहरुलाई समेत १-१ कोठा कार्यालयका रुपमा प्रयोग गर्न उपलब्ध गराइने भएको सदस्यसचिव भण्डारीले बताउनुभयो । कार्यालयको औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको भएपनि हेटौंडा–४ मा रहेको कार्यालयमा रहेका सामानहरु दशैंपछि मात्र सारेर त्यसपछि मात्र कार्यालय गौरीटारबाट सञ्चालन हुने उहाँको भनाइ छ ।
कार्यालय उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना शर्मा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति रहेको थियो ।