हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक भागबन्डाले देशको विकास नहुने बताउनुभएको छ । राजनीतिक भागबन्डा हुँदा देशमा विकासको कामै नहुने भन्दै अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार अहिले राम्रो नभएको बताउनुभयो । उहाँले स्थायी सरकार नभएसम्म विकासको कामहरु अघि नबढ्ने भन्दै सत्ता प्राप्तिको लागि मात्रै दलहरु लागिपर्ने बताउनुभयो ।
शुक्रबार नेकपा एमाले मकवानपुरले आयोजना गरेको विजयी दशमी, दिपावली, तथा छठ पर्वको शुभकामना दिँदे मुख्यमन्त्री शाक्यले परम्परागत संस्कारलाई अब रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले विभेदरहित समाज बनाउनुपर्ने तथा समानताको लागि आजैबाट सुरुवात गर्नुपर्ने भन्दै नेकपा एमालेले रुपान्तरणसहितको संस्कार निर्माण गर्न छलफल चलाउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेको स्थानीय तहमा बर्चश्व भएकै कारण एमालेले विकासको कामहरु गर्ने उहाँको भनाई छ । नेकपा एमालेले लोकतान्त्रिक परम्परा रुपान्तरण गरेर देशको समृद्धि चाहेको बताउनुभयो । उहाँले अबको नयाँ नेपाल भनेकै विभेदरहित नेपाल भएको बताउनुभयो । संस्कृतीमा पनि विभेद हुन नहुने मुख्यमन्त्री शाक्यको भनाई छ । दशै, तिहार सबै समुदायको साझा पर्व भएको भन्दै कम खर्च गरेर परिवारसँग मनाउन मुख्यमन्त्री शाक्यले आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्थाप, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, सामाजिक विकास मन्त्री विजयी सुवेदी, राज्यमन्त्री जुनेली श्रेष्ठ लगायत एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।