चाडपर्व सुरु भएका छन्, तर मकवानपुरका कतिपय शैक्षिक संस्थाहरुमा अध्यापन जारी छ । गत वर्षहरुमा दशैंको घटस्थापनादेखि नै विदा दिइने शैक्षिक संस्थामा अहिले कक्षा निरन्तर छन् । दशैं र तिहारको बीचमा पनि कक्षा सञ्चालन हुने भन्दै विद्यालयहरुले सूचना जारी गरेका छन् । कोरोनाबाट लामो समय कक्षा बन्द भएपछि कोर्स पूरा गर्ने चटारो विद्यालयलाई पर्ने देखिएको छ । सरकारले शैक्षिक वर्षको अवधि यथावत राखेपछि विद्यालयहरुलाई समयमै कोर्स पूरा गराउन विदाहरु कटौती गर्नुपर्ने बाध्यता भएको छ । लामो समय विद्यालय नगएका बालबालिकाहरुको उपस्थिति अझै पूर्ण हुन सकेको छैन । जसले गर्दा कोर्स अघि बढाउन पनि समस्या देखिएको छ ।

कोरोनाकै बीच विद्यालयहरु सञ्चालन भएका छन् । समाजका सबै क्षेत्र सहजै सञ्चालन हुन थालेपछि विद्यालयमा पनि भौतिक उपस्थितिबाटै कक्षा सञ्चालन भएको पाइन्छ । तर बालबालिकाहरु अझै कोरोना खोपबाट वञ्चित भएकाले जोखिम उच्च रहेको छ । यसका लागि विद्यालयहरुले कक्षा सञ्चालन गर्दा कार्यढाँचाअनुसार शिक्षण सिकाई गर्नुपर्ने हुन्छ । त्यसको अनुगमन स्थानीय तहबाट गरिनु पर्दछ । तर स्थानीय तहहरुले आजसम्म अनुगमन गरेर त्यसको प्रतिवेदन सार्वजनिक गरिसकेका छैनन् । अनुगमन गरिएको र अवस्था यस्तो पाइयो भनेर स्थानीय तहबाट जानकारी सार्वजनिक गर्नु आवश्यक छ । जिम्मेवारी पाएका निकायहरुबाट अनुगमन हुँदा विद्यालयहरु सचेत हुने तथा अभिभावकहरु ढुक्क हुनेछन् ।

कक्षा सञ्चालनसँगै अभिभावकहरुले शुल्कका विषयमा पनि गुनासो गरेका छन् । विद्यालय बन्द भएको अवधिको समेत पूरा शुल्क लिएको गुनासो छ । अनलाइन कक्षाको शुल्कमा छुट दिने भनेर हेटौंडा उपमहानगरपालिकाले गतवर्ष नै निर्णय गरेको थियो । तर यस वर्ष यस्तो निर्णय नहुँदा विद्यालयहरुले पूरा शुल्क लिएको अभिभावकको गुनासो छ । यस सम्बन्धमा सम्बन्धित निकाय र विद्यालयहरुले जवाफदेही बन्न आवश्यक छ । यस्तै कोरोनाबीच विद्यालय सञ्चालन गर्न सहज छैन । कक्षा व्यवस्थापनदेखि स्वास्थ्य सुरक्षा चुनौती छन् । अभिभावकको गुनासोमात्र नभई विद्यालयहरुलाई परेको समस्या पनि सुनुवाई हुनुपर्दछ । यसका लागि विद्यालय र स्थानीय तहबीच निरन्तर सम्वाद आवश्यक छ ।

अभिभावकको गुनासो सम्बोधन गर्ने क्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बढी शुल्क नलिन भनेको छ । निजी विद्यालयका प्रधानाध्यापकहरुसँगको अन्तरक्रियामा यस्तो निर्देशन दिइएको हो । अभिभावकका लागि निर्देशन सकारात्मक भए पनि कार्यान्वयन कसरी भएको छ भन्ने पक्षबाट पनि हेर्नु आवश्यक छ । कार्यढाँचाअनुसार कक्षा सञ्चालनदेखि शुल्क व्यवस्थापनमा अभिभावकसँगको सहकार्य तथा छलफल आवश्यक हुन्छ । तर कुनै पक्षले पनि अभिभावकहरुसँग सरोकार राखेको पाइँदैन । विद्यालयहरुले अभिभावकसँग छलफल गर्न सक्छन् । तर यस वर्ष शुल्क निर्धारणदेखि कक्षा व्यवस्थापन र बालबालिकाको स्वास्थ्य सुरक्षा सम्बन्धमा परामर्श गरेको पाइएको छैन । अभिभावकसँगको सहमति तथा उनीहरुको संलग्नतामा हुने निर्णयले मात्र शिक्षामा उपलब्धि हासिल हुनसक्छ । गुनासो नभई सन्तुष्टि व्यक्त हुने वातावरण बन्नुपर्दछ ।