फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य सेवाको वार्षिक समीक्षा कार्यक्रम सकिएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा उपमहानगरका १९ वटा वडामा रहेका २० वटा स्वास्थ्य संस्थामा वर्षभरी भएका स्वास्थ्य सम्बन्धी गतिविधिको बारेमा छलफल गरिएको थियो ।

प्रत्येक वडाबाट दिइने खोप सेवा, गर्भवती जाँच सेवा, क्षयरोग सम्बन्धी औषधी वितरण सेवा, कुष्ठरोग, सुत्केरी जाँचका विषयमा प्रस्तुती तथा छलफल भएको थियो । हेटौंडा उपमहानगरका ५ वर्ष भन्दा कम उमेर समूहका ८२.८९ प्रतिश बालबालिकाले डि.पि.टि., ७६.७० प्रतिशत बालबालिकाले बि.सि.जि., ८६.५० प्रतिशत बालबालिकाले एम.एम.आर., ८६.३० प्रतिशत बालबालिकाले पि.सि.भि., ८१.५७ प्रतिशत बालबालिका एफ.आई.पि.भि. तथा ७७.१८ प्रतिशत बालबालिका पोलियो खोपबाट लाभान्वित भएको बताइएको छ । कोभिड–१९ को रोकथामका बिभिन्न उपायबारे छलफल गर्दै कोभिड–१९ विरुद्ध सञ्चालित खोप अभियान सफल भएको प्रस्तुतीका क्रममा स्वास्थ्यमकर्मीहरुले बताएका छन् ।

हेटौंडा उपमहानगरमातहतका स्वास्थ्य संस्थाबाछ आर्थिक वर्ष २०७७/७८ मा ७१ हजार ३ सय १७ जना पुरुष र ९८ हजार ५७ जना महिलाले सेवा लिएको बताइएको छ । भवनको अभाव, दक्ष जनशक्तिको अभाव प्रमुख समस्याको रुपमा स्वास्थ्यकर्मीले समीक्षाका क्रममा औँल्याएका छन् ।