भूटनदेवी माविले सञ्चालन गरिएको परीक्षामा सहभागी परीक्षार्थीहरु । फाइल तस्बिर

हेटौंडाः मकवानपुरका केही सामुदायिक तथा निजी विद्यालयले दशैंभन्दा अगाडि नै परीक्षा सञ्चालन गरेका छन् । विद्यालयहरुमा भदौ २७ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको थियो । विद्यालय सञ्चालनमा आएको १५ दिनपछि नै कतिपय विद्यालयहरुले हतारमा परीक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेका हुन् ।

हेटौंडा–४ मा रहेको भूटनदेवी माध्यमिक विद्यालयले मंगलबारदेखि परीक्षा सुरु गरेको छ । भूटनदेवी माविका सहायक प्रधानाध्यापक भरत पोखरेलले कक्षा १ देखि १० सम्म त्रैमासिक परीक्षा सञ्चालन भइरहेको बताउनुभयो । मंगलबारबाट सुरु भएको परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा र बुधबार अनिवार्य नेपालीको परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो ।

१ हजार २ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयका प्रायः सबै विद्यार्थी परीक्षा दिन आएको सहायक प्रधानाध्यापक पोखरेलले बताउनुभयो । असोज २० गतेसम्म परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणका कारण ५ महिनासम्म बन्द भएको विद्यालयले अनलाइन कक्षा तथा भौतिक उपस्थितिमा भएको पढाइलाई आधार बनाएर परीक्षा सञ्चालन गरेको हो । परीक्षा दुई सिफ्टमा सञ्चालन गरिएको छ ।

यसैगरी हेटौंडा–५ स्थित जेनिथ इन्टरनेशनल बोर्डिङ स्कूलले पनि दशैंभन्दा अगाडि परीक्षा गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी असोज १६ गतेदेखि २४ गतेसम्म परीक्षा हुने जेनिथ इन्टरनेशनल बोर्डिङ स्कूलका शिक्षक प्रिय पाण्डेले जानकारी दिनुभयो । विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । परीक्षा भने एउटै सिफ्टमा सञ्चालन हुने पाण्डेको भनाई छ ।

यस्तै, कृष्ण आदर्र्श बोर्डिङ स्कूलले पनि आज बिहीबारबाट परीक्षा सञ्चालन गरिने प्रधानाध्यापक नवीन केसीले जानकारी दिनुभयो । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले पनि असोज १७ गतेदेखि २२ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी परीक्षा कार्यक्रम सार्वजनिक गरेको प्रधानाध्यापक वीरवंश बैठाले बताउनुभयो । आधुनिक राष्ट्रिय माविमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । हेटौंडा–१, चाइनाक्वाटरमा रहेको अमर माविले पनि आगामी १५ गतेदेखि २२ गतेसम्म परीक्षा गर्ने विद्यालयका शिक्षक डीबी बर्तौलाले बताउनुभयो ।

विद्यालयहरुमा असार १ गतेबाट पुस्तक वितरण तथा अभिलेखीकरण कार्य सुरु भएका थिए । कोरोना संक्रमणका गरिएको निषेधाज्ञा कायमै रहेका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । कोरोना भाइरस संक्रमण सामान्य भएपछि खुलेका विद्यालयहरुले पढाइलाई तिव्र गतिमा अघि बढाएका छन् । अनलाइन कक्षा प्रभावकारी हुन नसकेपछि विद्यालय खोल्नका लागि ध्यानाकर्षण गराइएको थियो । त्यसपश्चात् विद्यालय खोल्न सक्ने आधारसहित कार्यढाँचा पेश गरी विद्यालय सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको हो । विद्यालयले किन यति छोटो समयमा परीक्षा सञ्चालन गरे भन्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ ।