मकवानपुर खेलकुदका लागि उर्वर जिल्लाका रुपमा परिचित छ । तर पछिल्लो समय फुटबलका केही खेलाडीबाहेक मकवानपुरबाट राष्ट्रिय टिममा अति थोरै खेलाडी सहभागी छन् । राज्यको लगानी खेलकुदमा वृद्धि हुन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव खेलाडीको क्षमता विकासमा परेको छ । खेलाडीको गुणस्तर खस्किनुको कारण खोज्ने र समाधान गर्नेतर्फ विशेष योजना बनाउनु आवश्यक छ । खेलमैत्री वातावरण बनाउन नसक्दा मकवानपुरमा राष्ट्रिय खेलाडीहरुको संख्या पनि कमी हुँदै गएको यथार्थ हो । दशक अघिसम्म नेपाली बक्सिङ टिममा मकवानपुरेको बाहुल्यता थियो । फुटबलमा आज पनि छ । कराँते तथा तेक्वान्दोमा समेत मकवानपुरले आफ्नो उपस्थिति प्रभावशाली बनाएको थियो । तर आज त्यो अवस्था छैन ।
मकवानपुरमा विभिन्न विधाका ५७ वटा खेल संघहरु गठन भएका छन् । केन्द्रीय अधिवेशनका लागि गठन हुने र हराउने प्रवृत्ति छ । दर्ता जति भए पनि मकवानपुरमा १५ वटाभन्दा बढी खेल संघ क्रियाशील छैनन् । संघ गठन गर्नुभन्दा पनि खेलाडी उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ । सक्रिय रहेका संघहरुमध्ये पनि खेलाडीहरु खेल सामान र खेलस्थलको अभावमा अलपत्र बन्ने गरेका छन् । सम्बद्ध निकायबाट उचित व्यवस्थापन गर्ने प्रयास भएको पाईंदैन । राज्य पुनर्संरचनापछि स्थानीय तहबाट केही प्रयास भएका छन्, तर पर्याप्त छैन । खेलकुद क्षेत्रको विकासका लागि राज्यसँगै निजी क्षेत्र पनि सहभागी हुन आवश्यक छ । सहकार्यबाट मात्र खेल क्षेत्रले गति लिनसक्छ ।
खेलकुद संघ गठन गर्नका लागि होडबाजी हुन्छ । त्यसपछि त्यो पदाधिकारीले कुनै पनि दिन खेलाडी उत्पादन र प्रतियोगिता आयोजनातर्फ ध्यान दिएको पाईंदैन । पदको मात्र जिम्मेवारी लिने प्रवृत्तिले खेलकुदको विकास सम्भव छैन । खेलाडीको विकास र विस्तार तथा प्रशिक्षणमा मकवानपुरका थोरै संघले मात्र चासो देखाएको अवस्था छ । विशेषगरी मकवानपुर बक्सिङ संघको सक्रियता यतिबेला खेलकुद क्षेत्रका लागि उदाहरण बन्दै गएको छ । संस्थाको नेतृत्वकर्ता इमान्दार र आफ्नो जिम्मेवारी बुझ्ने भएमात्र केही काम हुनसक्छ भन्ने जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले देखाएका छन् । उनी आफैं खेलाडी हैनन्, तर बक्सिङका लागि नयाँ योजना र खेल सामग्रीको प्रबन्धका लागि महत्वपूर्ण योगदान दिएका छन् ।
खेलाडी उत्पादनका लागि भन्दै बक्सिङका अध्यक्षले समयमात्र हैन, आर्थिक लगानीसमेत गर्दै आएका छन् । खेलाडीलाई अभ्यास गर्न ५ लाखभन्दा बढीको खेल सामग्री संघलाई उपलव्ध गराएका छन् भने खेलाडी आकर्षण गर्न नयाँ योजना र अक्षय कोष नै सञ्चालन गरेका छन् । गठन भएका धेरै संघहरुका पदाधिकारी कहाँ छन् थाहा छैन । धेरै संघअन्तर्गत् खेलाडी नै छैनन् । जुन खेलका खेलाडी छन्, उनीहरुले पदाधिकारी नै चिन्दैनन् । तर बक्सिङ संघ मकवानपुर देशकै लागि नमुना बन्दै गएको छ । ट्रेनिङ सेन्टर रहरलाग्दो बनाइएको छ । खेलाडीहरुलाई अभ्यास गर्नका लागि संघकै तर्फबाट प्रशिक्षकको समेत व्यवस्था गर्नु सामान्य विषय हैन । बक्सिङ संघकै जति नसके पनि अन्य संघहरुले आफूलाई गतिशील बनाउन आवश्यक छ ।