हेटौंडाः हेटौंडा–४ स्थित नारी संरक्षण केन्द्रको बीसौं बार्षिक साधारणसभा आइतबार भएको छ । बेचबिखनमा परेका तथा विपन्न परिवारका बालबालिकाको संरक्षण गर्दै आएको संस्थाले साधारणसभाको अवसरमा सहयोगी संघ, संस्थालाई सम्मान समेत गरेको छ ।
संस्थाका उपाध्यक्ष भिष्मराज सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।
साधारणसभामा नारी संरक्षण केन्द्रकी सचिव प्रतिकला चौधरीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संरक्षण र शिक्षा परियोजनाअन्तर्गत केन्द्रले २ जना बालक र २६ जना बालिकालाई आवासीय सुविधासहित संरक्षण गरिराखेको सचिव चौधरीले जानकारी गराउनुभयो । संरक्षित बालबालिकाको परिवारको आयआर्जनका लागि सिलाई तालिमका साथै उपकरण सहयोग सहयोग गर्दै आएको बताइएको छ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनको मापदण्ड लागू गर्न भने कठीन भएको सचिव चौधरीको भनाइ थियो ।
यस्तै नारी संरक्षण केन्द्रकी कोषाध्यक्ष प्रिस्किला तामाङले आर्थिक बर्ष २०७७/७८ मा ८७ लाख ३१ हजार अनुदान सहयोग प्राप्त भएको र ८६ लाख २० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।