मकवानपुरमा अब सभा, गोष्ठी, सेमिनार गर्न खुला भएको छ । यसअघि जारी रहेको निषेधाज्ञामा भिडभाड गरेर सभा, गोष्ठी, सेमिनार, विवाह, ब्रतबन्ध गर्न निषेध गरिएको थियो । भिडभाड नहुने सुनिश्चित गरेर जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरेर कार्यक्रम गर्न पाइने भएको छ । यसअघि पूरा निषेध गरिँदासमेत स्वास्थ्य मापदण्डबिना नै कार्यक्रम गर्नेहरुलाई अब पालना गर्न कुनै बाध्यकारी अवस्था छैन । मानिसको व्यवहारका कारण फेरि महामारी नबढ्ला भन्न सकिँदैन । नेपालमा कोभिडको दोस्रो लहर आउन दलहरुको सभाजुलुस, आमसभा, र्यालीलगायत कार्यक्रमको भूमिका रहेको जगजाहेर छ । त्यसैले आगामी दिनमा फेरि अवस्था त्यस्तै भएमा अन्यथा हुँदैन ।
चाडपर्व सुरु भएपछि बजारमा भिड हुने समय नै हो । राज्यका तर्फबाट निषेधाज्ञा नै लगाएको अवस्थामा त अटेरी गर्ने स्वभाव भएका हामीहरुलाई सबै क्षेत्र खुला भएको उपयोग र सदुपयोगभन्दा पनि दुरुपयोग गर्न अझै सहज हुने भएको छ । आफ्नै बानी व्यवहारका कारण हर्षोल्लासपूर्ण मनाउनुपर्ने चाडपर्वहरुमा थप पीडा र दुर्घटना नहोस् भन्नेतर्फ सोच्नु आवश्यक छ । कोरोना महामारी सकिएको छैन, कम मात्र भएको हो । यस कुरालाई मनन् गर्दै स्वास्थ्य मापदण्ड पालनालाई अनिवार्य शर्त बनाउनु नै आजको सही निर्णय हुनसक्छ । सबै पक्ष खुला हुनु भनेको कोरोना सकिएको हुँदै होइन । जिल्ला प्रशासनले अनुशासन कायम गर्नका लागि पनि निषेधाज्ञा जारी राख्दै सबै क्षेत्र खुला गरेको छ ।
बजार, पसल, यातायात लगायतका सम्पूर्ण क्षेत्रमा सहज वातावरण बन्दै गएको छ । प्रशासनले पनि सोहीअनुसार गर्न निर्देशन गरेको हो । चाडपर्वहरु जनस्वास्थ्यको मापदण्डको पालना गरेर न्यूनतम सहभागितामा सांकेतिकरुपमा मनाउन भनिएको छ । धार्मिक प्रतिष्ठानहरुमा जमघट तथा भेटघाट हुने क्रियाकलाप गर्न निषेध गरिएको छ । तर यो निषेध पालना होला र ? पालना नै हुन नसक्ने आदेशप्रति पनि प्रश्न उठ्दै आएको छ । जब सबै क्षेत्र खुला गरी नै सकेपछि निषेधको आदेशको औचित्यमाथि प्रश्न स्वभाविक हो । प्रशासनले दिएका आदेशको पूर्ण पालना हुनु आवश्यक छ । जारी गर्नका लागि मात्र जारी हुनु हुँदैन । आवश्यक छैन भने औपचारिकताका लागि मात्र निर्णय नगर्दा उत्तम हुन्छ ।
कोभिड विस्तारै कम भएको देखिएको छ । तर परीक्षण किन कम भएको भन्ने पक्षबाट पनि सोच्नुपर्दछ । परीक्षण नै कम भएपछि संक्रमण पनि स्वभाविकरुपमा कम हुने नै भयो । परीक्षणका लागि मानिस बिरामी भएर पनि नआएका हुन् वा बास्तविकरुपमा नै मानिसहरु अब पूरै सन्चो भएको हो ? यस कुराको यकिन नहुँदासम्म कोरोनाको अवस्थाको सही तथ्यांक आउन सक्दैन । संक्रमण कम हुँदै गएको आधारमा सामाजिक जीवन खुला बनाइएको देखिन्छ । यो बाध्यता पनि बनिसकेको छ । तर आजको बाध्यताले भोलि पश्चाताप गर्नसमेत समय नपाउने खतरातर्फ पनि सचेत हुन जरुरी छ । जनजीवन खुला गरौं तर होशियारी जहिले पनि कायम राखौं ।