हेटौंडाः ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाको अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाको तर्फबाट संस्थागत भनाई व्यक्त गर्नुहुँदै ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले हालसम्म २३ हजार महिलाहरुलाई सेवा प्रदान गरेको बताउनुभएको छ । जिल्लामा ४१ वटा महिला सहकारीका २ हजार ३ सय महिला समुहमा आबद्ध रहेका २३ हजार महिलाहरुसँग प्रत्यक्ष रुपमा काम गरी महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक सशक्तिकरणको क्षेत्रमा भुमिका निर्वाह गरेको उहाँले जानकारी दिनुभयो । संस्थाले तत्कालिन ३८ वटा गाविसहरुमा महिला सहकारीको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति, तथा पछाडी पारीएका जानजातिहरुको सामाजिक, आर्थिक, राजनैतिक तथा वातावरणिय सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको पनि अध्यक्ष कार्कीले बताउनुभयो । जसअन्तर्गत हाल जिल्लाका बागमती, मनहरी र मकवानपुरगढी गरी ३ वटा गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ‘नेतृत्व र निर्णय’ कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा सचिव अचला शर्माले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुलोचना स्याङतानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । यस्तै साधारण सभामा लेखा सुपरिवेक्षणको प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिकको अधिकार प्रत्यायोजन, आवश्यक नीति नियम संशोधन तथा माइन्युट प्रमाणित लगायतका प्रस्तावहरु पेश गरिएको थियो । ३६ जना सदस्यहरु रहेको ग्रामिण महिला सेवा केन्द्रमा कार्यक्रम संयोजक देखि कार्यालय सहयोगीसम्म गरेर ११ जना कर्मचारी रहेको संस्थाले जनाएको छ । संस्थाले गत आ.व. २०७७÷०७८ मा सदस्यता शुल्क, घरभाडा, अनुदानलगायतका शिर्षकहरुबाट कुल १ करोड २१ लख ५१ हजार ५ सय ८५ रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष स्याङतानले जानकारी दिनुभयो । जसमा विभिन्न कार्यक्रमका शिर्षकमा १ करोड २३ लाख ६३ हजार ६ सय ५४ रुपैयाँ ७० पैसा कुल खर्च भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडाका मेयर हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रफलमा निकै ठुलो भएको र निकै ग्रामिण क्षेत्रहरु समेत भएकाले त्यस्तो स्थानमा अझै सडक, पानी समेत पुग्न नसकको कारण त्यहाँका महिलाहरु २ घण्टासम्म हिडेर पानी आसोर्न जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले त्यस्ता ठाउँहरुमा ग्रामिण महिला सेवा केन्द्र पुगेर पुरुषहरुले पनि महिलाहरुलाई घरायसी काममा सहयोग गर्न जनचेतना फैलाउने तथा कानुनमा २० वर्षभन्दा कम उमेरमा बिहे गर्न नपाइने भएपनि १४÷१५ वर्षमै बिहे गरेर बच्चा जन्माउने चलन हेटौ.डाकै विकट क्षेत्रमा नहटेकाले त्यास्ता क्षेत्रमा पुगेर प्रजनन् स्वास्थ्यसम्बन्धि जनचेतना फैलाउने कार्यक्रमहरु आयोजना गर्न आग्रह गर्नुभएको छ ।

यस्ता कार्यक्रमहरु आयोजना गर्न उपमहानगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष तथा संस्थाको सल्लाहकार सदस्य पार्वती राना, संस्थापक सदस्य सरिता सापकोटा, सल्लाहकार सदस्य शर्मिला श्रेष्ठ, लेखा समिति संयोजक जुना दंगाललगायतकाको आतिथ्यता रहेको थियो ।