हेटौंडाः मकवानपुरमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६ जनामा गरिएको पीसीआर परिक्षणमा १४ जनामा र १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कारोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिकाका २ जनामा, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका१–१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ५० जना पुगेको छ । जिल्लामा हाल २ सय १२ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये २ सय ३ होम आइसोलेसन र ९ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमणुक्त भएका छन् । होम आइसोलेसनमा बसेका ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो अवधिमा जिल्ला कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैैन । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्लामा अहिलेसम्ममा १ लाख ३९ हजार ६ सय ६४ जनाले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएको छन् भने १ लाख २ हजार ९ सय ५९ जनाले मात्रा कोरोेना भाइरस विरुद्धको पुर्ण खोप लगाएका छन् ।