हेटौंडाः मकवानपुरमा अब सभा, गोष्ठी, सेमिनार गर्न खुल्ला भएको छ । यसअघि जारी रहेको निषेधाज्ञामा भिडभाड गरेर सभा, गोष्ठी, सेमिनार, विवाह, ब्रतबन्ध गर्न निषेध गरिएको थियो । भिडभाड नहुने सुनिश्चित गरेर जनस्वास्थ्यको मापदण्ड पालना गरेर भौतिक दुरी कायम गरेर कार्यक्रम गर्न पाइने भएको छ ।
यसअघि प्रशासनले निषेध गरेपनि जिल्लामा विभिन्न पार्टीहरुले सयौंको संख्यामा भिडभाड गरी कार्यक्रम गर्दे आएका थिए । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतपणि पाण्डेले आदेश जारी गर्दै पसल व्यवसाय, उद्योग, सार्वजनिक व्यवसाय संचालन गर्दा भिडभाड नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताउनुभएको छ ।
चाडपर्वहरु जनस्वास्थ्यको मापदण्डको पालना गरेर न्यूनतम सहभागितामा सांकेतीक रुपमा मनाउन प्रशासनले आदेश गरेको हो । यस्तै धार्मिक प्रतिष्ठानहरुमा धार्मिक, सांस्कृतिक, लगायत कुनै पनि प्रकासरको जमघट तथा भेटघाट हुने क्रियाकलाप गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेको आदेशमा विद्यालयमा भौतिक पठन पाठन संचालन गर्न अभिभावको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा, २०७७ उल्लेखित मापदण्ड स्थानीय तहले स्वीकृत गरेर संचालन गर्न पाउने छ ।
यसैगरी मकवानपुरमा असोज १ गतेबाट २४ सै घण्टा व्यवसाय खोल्न पाउने भएको छ । सिनेमा हल संचालन गर्न प्रशासनको अनुमति लिएर संचालन गर्न सकिने प्रशासनले जनाएको छ । मकवानपुरमा जारी निषेधाज्ञा हटाइएको भने छैन । भाद्र ३१ गतेसम्म जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म लम्बाइएको छ ।