राधा कुमारी महतो

सरस्वती प्रतीक्षाद्वारा रचित “नथिया” उपन्यासमा समाजको त्यो कथालाई व्यक्त गरेको छ जसको अस्तित्व अन्धकारमा लीन छ । त्यस्ता व्यक्तिहरु कथा यहाँ बताइएको छ जसका अस्तित्व समाजमा भएर पनि उनीहरूलाई उजागर गर्न सकिएको छैन । त्यो कथा वादीहरुको हो । वादीहरुलाई पानी नचल्ने जात भनिन्छ किनकि वादीहरु धेरै पहिलादेखिनै वेश्यावृत्तिमा लागेका छन् । उनीहरुको यो पेसालाई समाजमा इज्जत दिइँदैन । वादीहरुले यो समाजमा इज्जत नपाएपनि उनीहरु यही समाजका अंश हुन् । शरीर बेचेर जीविकोपार्जन गर्नु उनीहरुको दैनिकी हो । यसै वादीहरुको कथालाई नथियामा वर्णन गरिएको छ ।

कथाको प्रारम्भदेखिनै नथियाले ठूलो भूमिका खेलेको छ । नथियाबाट नै कथाको आरम्भ र अन्त्य भएको उक्त उपन्यासमा स्पष्ट देखाइएको छ । वादी बस्तीमा नथिया उतार्नुको अर्थ वेश्यावृत्तिमा लाग्नु भन्ने मानिन्छ । वादी वस्तीमा जन्मेका केटीहरु सबैलाई १६/१७ पुगेपछि नथिया उतार्नु पर्ने बताइएको छ अर्थात् यसलाई उनीहरूको संस्कृति मानिन्छ । नथिया उता नै लिए थुप्रै रकम तिर्नुपर्छ र अनि मात्र त्यो केटीको भोग गर्न सक्छन् । गरिबीको कारण वादीहरुलाई नचाहेर पनि यो धन्दामा लाग्नु परेको कुरा उपन्यासमा स्पष्ट गरिएको छ । उनीहरुलाई अहिले पनि हाम्रो समाजमा तल्लो अर्थात् सानो जात मानिन्छ र उनीहरुले छोएको पानी पनि खाँदैनन् मान्छे ।

यही वादी बस्तीको एक पात्र सामली वादीको कथा उक्त उपन्यासमा भेट्न सक्छौं । सामली वादी बस्ती सबैभन्दा सुन्दरी र राम्री वेश्या थिई जसको जन्मले नै सारा बस्तीमा खुसीको लहर फैलिएको थियो । उसमा भएको चमकले सबैको मन लोभ्याउन सक्थ्यो । बाल्यकालदेखि लिएर किशोरी अवस्थासम्म उसको जीवन सामान्य थियो तर जब ऊ युवावस्थामा पुगी उसको जीवनमा अनेक मोडहरु आए । उसको जीवनको हरेक अध्यायले पाठकको मन जित्न सक्छ । जब ऊ २० वर्षकी भई तब उसको नथिया उतारियो, नथिया उतार्नु उसका लागि एउटा मानसिक आघात बन्यो र यसले उसको मनमा गहिरो छाप छोड्यो । बादी बस्तीमा जन्मने सबै केटीका लागि यो समान्य कुरा भए तापनि उसको मनमा नराम्ररी चोट पुर्यायो । वादी बस्तीमा जन्मेका केटीहरूले कहाँ आफ्नो भाग्य आफैँ निर्माण गर्न सक्थे र रु अन्त्यमा परिस्थितिले उसलाई वेश्यावृत्तिमै धकेलिदियो । पैसाको अभावमा भोकै मनलागेको परिवारलाई बचाउन कुनै उपाय नभएपछि उसले यही पेशामा लाग्ने निर्णय गरी ।

जीवनको नयाँ खेल सुरु भयो र फेरि पिरिस्थितिले उसलाई वेश्यमबाट श्रीमती बनाइदियो । आफ्नै वादी बस्तीमा आउने एक ग्राहकको श्रीमती बनी तर त्यहाँ इज्जत र स्वतन्त्र सबै गुमाई । त्यहाँ केबल उसको शोषण मात्र गरिन्थ्यो । त्यो बन्धन छोडेर नयाँ बन्धनमा जोडी आफ्नो कोखमा बाचेको बच्चाका लागि जुन उसको पहिलो पतिको थियो । नौ महिना उसका लागि सबैभन्दा खास थियो । उसले आमा बन्ने बुझेकी थिई । नौ महिना पछि उसले सुन्दर छोरी पाई । फेरि समयले उसलाई वादी बस्ती पुर्यायो । पति थला परेपछि छोरी पाल्न र घरबार चलाउन उसलाई वेश्यावृत्तिमा लाग्नु पर्यो । पतिको मानसिक सन्तुलन बिग्रेपछि उसले सामली र परिवारलाई छोडेर गई ।

जीवनको अर्को अध्यायको आरम्भ भयो । त्यो घटना घट्यो जसको उसले कल्पना समेत गरेकी थिइन । उसले प्रेम गरी । अभिनय त धेरै पटक गरेको थिई । पहिलो पटक उसले साचोँ प्रेम गरी र पाई पनि । दिवाकर नामक एक शिक्षकसँग जो वादी बस्तीमा अनुसन्धान गर्न आएको थियो । प्रेमको त्यो सागरमा उसले आफ्नो अस्तित्व भेटी, जीवनको मूल उदेश्य भेटी, आफ्नो लक्ष्यलाई चिनी । दिवाकरको प्रेमलाई मनमा बसाएर, उसले दिएको नथिया लगाएर वादी बस्ती र दिवाकरलाई छोडेर आफ्नो सानी छोरीसँग जीवनको नयाँ अध्याय आरम्भ गरी ।

एक वेश्याको कस्तो हुन्छ भनेर हामी कल्पना गर्न पनि रुचाउँदैनौँ । उनीहरुको जीवनमा पनि काडाँ बिजेको हुन्छ । नथिया जसलाई हामी सामान्य गहना सम्झना छौं । त्यो उनीहरुका लागि हतकडी बनिदिन्छ । समाजले सधैँ तिरस्कार गर्दा कस्तो महसुस होला उनीहरुलाई हामी कहिले सोच्दैनौँ । वेश्या तब मात्र शरीर बेच्छिन् जब यी समाजका इज्जतदार पुरुष त्यहाँ पुग्छन् । यही समाजमा ती पुरुषलाई सम्मानित दृष्टिले देखिन्छ तर वेश्यालाई हामी यो समाजको भाग पनि मान्दैनौँ । केही बाध्यतामा शरीर बेचेमा उसको मन धमिलो हुँदैन । त्यसैले उनीहरुले पनि सम्मान पाउनुपर्छ ।