छलफलमा सहभागीहरु ।

हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लामा स्थानीय तहको स्वीकृतिमा विद्यालयमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि विद्यालय सञ्चालनको तयारी सुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा जोखिम बढी रहेको हेटौंडा उपमहानगरपालिकाले पनि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको तयारी अघि बढाएको छ ।

विद्यालय सञ्चालनका बारेमा आइतबार नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको उपमहानगरपालिकाले सोमबार नगरका निजी विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको हो । उपमहानगरपालिकाले एक हप्ताको समयसीमा दिएर आगामी भदौ २७ गतेसम्म विद्यालय सञ्चालनको कार्यढाँचा पेश गर्न आग्रह गरेको छ ।

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण—२०७७ अनुसार कार्यढाँचा निर्माण गरी उपमहानगरपालिकामाा पेश गर्न निर्देशन दिइएको छ । विद्यालयका शिक्षक–कर्मचारी, शिक्षक अभिभावक संघ, व्यवस्थापन समितिलगायतको बैठकबाट कार्यढाँचा पास गरी उपमहानगरपालिकामा पेश गरेर अनुमति प्राप्त भएपछि मात्र भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।

सोमबार भएको संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा सनराइज बोर्डिङ स्कूलका प्रधानाध्यापक रामकुमार श्रेष्ठले विद्यार्थी संख्या तथा जोरबिजोर रोल नम्बरअनुसार कार्यढाँचा निर्माण गरिने बताउनुभयो । भौतिक उपस्थितिमा पठनपाठनको तयारी गरिरहेको बताउनुहुँदै श्रेष्ठले अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको बताउनुभयो । सक्दो एउटा बेन्चमा एक विद्यार्थीमात्र राखिने र बढीमा एउटा बेन्चमा दुई जना विद्यार्थी राखिने उहाँले बताउनुभयो ।

मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक छवि अनित्यले ९५ प्रतिशत अभिभावक पनि विद्यालय खुल्नुपर्ने पक्षमा रहेको बताउनुभयो । अनित्यले विद्यालय खोल्दा आउनसक्ने चुनौतीलाई हल गर्दै २७ गतेबाट भौतिक उपस्थितिमा पढाइ सुरु गरिने बताउनुभयो । श्रीकृष्ण आदर्श बोर्डिङका प्रधानाध्यापक कृष्ण केसीले भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्दा आउने समस्याप्रति सञ्चालक तथा प्राचार्य जिम्मेवार हुनुपर्नेप्रति आपत्ति जनाउनुभयो ।

यसैगरी कमाने एकेडेमीका प्रधानाध्यापक प्रतिभा डंगोलले महामारीका बेला विद्यार्थीहरु विद्यालयको सम्पर्कबाहिर भएको बताउनुभयो । ती बालबालिकाहरु सामाजिक सञ्जालमा गेममा व्यस्त तथा नकारात्मक क्रियाकलापप्रति आकर्षित भएको तथ्यहरुले पुष्टि गरेको बताउनुभयो । मनोचिकित्साको विस्तार गरी बालबालिकाको अवस्था र मनोविज्ञानबारे पहिचान गर्नुपर्ने डंगोलले बताउनुभयो ।

बालजागृति बोर्डिङ स्कूलका प्रधानाध्यापक विनोद सुवेदीले राज्यको शैक्षिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले निषेधाज्ञाको अवज्ञा गर्दै भौतिक उपस्थितिमा पठनपाठन गरेको दावी गर्नुभयो । अवज्ञा गरेको भरमा प्रशासनले १० हजारसहित जरिवाना लिएर कारवाही गरेकोमा आपत्ति जनाउनुभएको छ । महामारीकै बेलामा बालश्रम, बालविवाह र सामाजिक सञ्जालमा बालबालिकाको सक्रियतालाई अन्त्य गर्नु निजी विद्यालयको जिम्मेवारी भएको बताउनुभयो । समयको सदुपयोग गर्न २ घण्टा पढाएर नहुने र कम्तिमा ५ घण्टाको पढाई हुन आवश्यक भएको सुवेदीले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराम चौलागाईंले विद्यालयका हकमा प्राचार्य तथा प्रधानाध्यापकमा विद्यार्थीको जिम्मेवारी हुनुपर्ने बताउनुभयो । विद्यालय सञ्चालन गर्दा शिक्षक र विद्यार्थीमा आउने स्वास्थ्य समस्या समाधानप्रति हेटौंडा उपमहानगरपालिका तयार भएको बताउनुभयो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल तथा शिक्षा अधिकृत रामचन्द्र खड्का र हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।