फाइल तस्विर

हेटौंडाः पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसको नेतृत्व चयन भएको छ । अधिकांश वडामा नेतृत्व चयन सर्वसम्मतिमै भएका छन् भने केही वडामा भने निर्वाचन नै गरिएको छ । वडा अधिवेशनबाट सभापति, उपसभापति, सचिव, सहसचिव, सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ ।

१ नम्बर वडामा उप्रेती
मनहरी गाउँपालिकाको १ नम्बर वडामा रामप्रसाद उप्रेती सभापति चयन हुनुभएको छ । उप्रेतीको नेतृत्वमा १६ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा भरतप्रसाद बर्तौला र चमेली दोङ, सचिवमा रामेश्वरी न्यौपाने र भोलानारायण तिमल्सिना तथा सहसचिवमा सेतीमाया तामाङ, प्रमोद खनाल सर्वसम्मत चयन हुनुभएको छ ।

२ नम्बर वडामा गोङ्बा
नेपाली कांग्रेस मनहरी २ नम्बर वडा सभापतिमा प्रेमबहादुर गोङ्बा निर्विरोध चयन हुनुभएको छ । उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपसभापतिमा कर्णबहादुर लामा डिम्डुङ र शान्तिमाया थिङ, सचिवमा सोभित वाइबा र आत्माराम रुम्बा तथा सहसचिवमा दीपेन्द्रप्रसाद सेढाईं र विवेक मोक्तान चयन हुनुभएको छ । वडामा क्षेत्रीय प्रतिनिधि १६ जना पनि निर्विरोध चयन भएका छन् । २ नम्बर वडामा कांग्रेसको क्रियाशील सदस्य ४६ जना रहेका छन् ।

३ नम्बर वडामा पुरी
मनहरीको ३ नम्बर वडामा रमेश पुरी नेपाली कांग्रेसको वडा सभापतिमा चयन हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा विक्रमकुमार दोङ र मनोज अधिकारी, सचिवमा अखिल पुडासैनी र हीराबहादुर प्रजा, सहसचिवमा मणिराम सुनार र सुनिल उप्रेती तथा कोषाध्यक्षमा मञ्जु मल्ल चयन हुनुभएको छ । वडामा कार्यसमिति सदस्य संख्या २० रहेको छ । यस्तै क्षेत्रीय प्रतिनिधिमा १७ जना चयन भएका छन् ।

मनहरी–४ मा तितुङ
मनहरी–४ को वडा सभापतिमा आइतसिंह तितुङ निर्विरोध चयन हुनुभएको छ । उहाँसँगै उपसभापतिमा ऋषिराम गौतम र पार्वती अधिकारी, सचिवमा रोहित थिङ र कुष्ण घलान तथा सहसचिवमा मीरा गौतम र बुद्धि लोप्चनसहित २४ सदस्यीय समिति चयन भएको छ । क्षेत्रीय प्रतिनिधि १६ जना चयन हुँदा ६ जना खुल्ला पुरुष चयन गर्नका लागि निर्वाचन भएको थियो । ४ नम्बर वडामा ६१ जना क्रियाशील सदस्य रहेका छन् ।

उप्रेती ५ नम्बरको सभापति
मनहरी–५ को वडा सभापतिमा विष्णुप्रसाद उप्रेती निर्वाचित हुुनुभएको छ । वडा सभापतिको लागि मात्र भएको निर्वाचनमा उहा“ले अर्का आकांक्षी गौरीप्रसाद उप्रेतीलाई पराजित गर्नुभएको हो । ८६ जना क्रियाशील सदस्यमध्ये ८० मत खस्दा १ मत बदर भएपनि विष्णुप्रसादको पक्षमा ५२ मत आएको थियो भने गौरीप्रसादको पक्षमा २७ मतमात्र खसेको थियो । कार्यसमितिको उपसभापतिमा काजिमान स्याङ्तान र सुनबहादुर तामाङ, सचिवमा सीताराम स्याङ्बो र कृष्णप्रसाद सिलवाल तथा सहसचिवमा निराजन भट्टराई र लीलासिंह आले रहेका छन् । ५ नम्बर वडामा २२ सदस्यीय कार्यसमिति चयन भएको छ । क्षेत्रीय प्रतिनिधि भने १७ जना चयन भएका छन् ।

६ नम्बरमा थिङको नेतृत्व
मनहरी–६ मा बाबुराम थिङले नेपाली कांग्रेसको नेतृत्व गर्नुहुने भएको छ । सभापतिमा सर्वसम्मत चयन हुनुभएका थिङको कार्यसमितिको उपसभापतिमा दिलबहादुर नेगी र गणेशबहादुर घलान, सचिवमा शम्भुकुमार नगरकोटी र मोतीलाल नगरकोटी तथा सहसचिवमा सानुकान्छा मोक्तान र सानुमाया मोक्तान चयन हुनुभएको छ । कार्यसमितिमा ५ सदस्यमात्र चयन गरिएको छ भने बाँकी सदस्य पछि चयन गरिने जनाइएको छ । ६ नम्बर वडामा क्षेत्रीय प्रतिनिधि १७ जना सर्वसम्मत चयन भएका छन् । यस वडामा क्रियाशील सदस्य ७२ जना रहेका छन् ।

७ नम्बर वडामा मोक्तान
नेपाली कांग्रेसको मनहरी–७ को वडा सभापतिमा उमेश मोक्तान निर्विरोध चयन हुनुभएको छ । उपसभापतिमा सरोज प्रजा र चन्द्रबहादुर अधिकारी, सचिवमा हिमशिखर ब्लोन र कविराज घिमिरे तथा सहसचिवमा राजेन्द्र स्याङ्तान र देवेन्द्र कार्की चयन हुनुभएको छ । वडा समिति सदस्य संख्या २३ रहेको छ । वडामा १९ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध नै चयन भएका छन् । क्रियाशील सदस्य भने ९३ जना रहेका छन् ।

मनहरी–८ को सहसचिव चयनमा विवाद
मनहरी–८ मा नेपाली कांग्रेसको नेतृत्व चयनको क्रममा विवाद भएको छ । सहसचिव पदमा पहिले नै सहमति भएको नाम काटेर अर्कैको नाम राखिएको भन्दै आइतबार सुरु भएको विवाद सोमबारसम्म पनि नमिलेको निर्वाचन अधिकृत कलावती अधिकारीले जानकारी दिनुभयो । आइतबार विवादले उग्र रुप लि“दै टेबुल कुर्सी नै तोडफोड भएपछि अधिवेशन छाडेर भागेको उहाँको भनाई छ । अन्य पदमा सहमतिमै पदाधिकारी चयन भएपनि सहसचिव चयनमा विवाद भएको हो ।

सुरुमा सानुमाया गुरुङलाई सहसचिव बनाउने सहमति भएकोमा पछि उनको नाम काटेर अर्कैको नाम राखेरको कारण विवाद भएको अधिकारीले बताउनुभयो । गुरुङको नाम काटेर पार्वती रिमालको नाम दिइएपछि सुरु भएको विवाद नटुङ्गिदै रिमालको पनि नाम काटेर बलराम बर्तौलाको नाम आएको उहाँले जानकारी दिनुभएको छ । विवाद टुङ्ग्याउन मंगलबार बैठक बस्ने तयारी भएको जनाइएको छ ।

८ नम्बरको सभापतिमा भीमसेन थापा सर्वसम्मत चयन हुनुभएको छ । उपसभापतिमा रामप्रसाद सुवेदी र टेकबहादुर रुम्बा तथा सचिवमा शान्ति लामा र प्रकाश थिङ चयन हुनुभएको छ । सहसचिवको लागि सहमति भएपछि ८ नं. वडाको कार्यसमितिमा २२ जना रहनेछन् । वडामा क्षेत्रीय प्रतिनिधि २० जना चयन भएकोमा १ जनाले नाम फिर्ता लिएको जनाइएको छ ।

श्रेष्ठ बने ९ नम्बरको सभापति
मनहरी गाउँपालिकाको ९ नम्बर वडामा राजकुमार श्रेष्ठ नेपाली कांग्रेसको वडा सभापति बन्नुभएको छ । उपसभापतिमा प्रमोद अधिकारी र चन्द्रबहादुर मोक्तान, सचिवमा शिवराज गिरी र सञ्जित गोपाली तथा सहसचिवमा गंगा कोइराला र सूर्यबहादुर स्याङ्तान चयन हुनुभएको छ । वडामा २३ कार्यसमिति सदस्य चयन गरिएको छ । क्षेत्रीय प्रतिनिधिमा १७ जना निर्विरोध चयन भएका छन् । वडामा क्रियाशील सदस्य ७१ जना रहेका छन् ।