भर्खरै प्रकाशित भएको गिलासवाद नामको पुस्तक हाँस्यव्यङ्ग्यात्मक निबन्ध संग्रह हो । गोविन्द पौडेलद्वारा लेखिएको यस पुस्तकलाई प्रकाशन गर्ने काम भने सुशीला पुडासैनीले गर्नुभएको हो । २०७८ भदौ ७ गते गाईजात्राको दिन विमोचन गरिएको यो पुस्तक लेखक पौडेलको पहिलो कृति हो । ९६ पृष्ठ संख्या रहेको पुस्तकको मूल्य व्यक्तिगत तर्फ रु. १५० र संस्थागत तर्फ रु. ३०० मूल्य तोकिएको छ ।
मकवानपुर जिल्लाको मनहरीमा स्थायी बसोबास गर्दै आउनुभएका गोविन्द पौडेल शिक्षा, सञ्चार र साहित्यका क्षेत्रमा सक्रिय हुनुहुन्छ । श्री राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द पौडेल गाउँवेसी सञ्चार मञ्च र मनहरी सामुदायिक रेडियोका अध्यक्ष हुनुका साथै सिस्नुपानी मकवानपुरका सचिव समेत हुनुहुन्छ । विशेषत ‘हाँस्यव्यङ्ग्यात्मक लेखनमा रमाउने पौडेलले यसभन्दा अघि पनि थुप्रै हाँस्यव्यङ्ग्यात्मक फुटकर निबन्धहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि गराइसक्नु भएको छ । तिनै फुटकर रचनाहरुले नै आज सिंगो ‘गिलासवाद’ लाई जन्मदिएको छ । यसले नेपाली समाज र नेपालको राजनीतिक दुरावस्था, कुसंस्कार र कुसंस्कृतिका साथै रुढीवाद, अन्धविश्वास लगायतका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई व्यङ्ग्यात्मक साहित्यका माध्यमद्वारा खोतल्ने काम गरेका छन् । व्यङ्ग्य नै मुख्य विषयवस्तु बनाएर लेखिएको यस निबन्धसंग्रहभित्र सत्रवटा निबन्धहरु समावेश छन् । फरक शीर्षकमा फरक विषय समेटिएका छन् ।
जसमध्ये गिलासवाद मादक पदार्थ सेवन गर्ने विषयवस्तुसँग सम्बन्धित छ । ‘पत्रकार मितज्यूको प्रत्यक्ष प्रसारण’ मा पत्रपत्रिका, सञ्चारका साधन र पत्रकारहरुप्रति व्यङ्ग्य गरिएको छ । एल्बम निकाल्ने धुनमामा गीत, संगीत, गायन कला र सम्पूर्ण सांगीतिक क्षेत्रमा देखिएको विकृतिलाई उदांगो पारिएको छ । ‘सक्कलीदेखि साबधान’ मा अहिलेको नक्कली जमानाप्रति व्यङ्ग्य प्रहार गरिएको छ । ‘वनदेवी माईकी जय’ मा प्रकृतिमाथि मानिसको दोहन बढ्दै जाँदा प्रकृतिको कुरुप अवस्थालाई उजागर गरिएको छ । ‘यमलोकमा सहिद सम्मेलन’ मा सहिदहरुको योगदान, त्याग र तपस्यालाई बुझ्न नसक्दा वास्तविक सहिदहरु ओझेलमा परेको कुरालाई देखाइएको छ । ‘सञ्चै छ, बाँच्या छ’ मा सत्य इमानको व्यापारले जीवनको बँचाइ निरर्थक हुने र जो जालझेल अनि कुकृत्यले रातारात मालामाल हुन्छ ऊ नै सामाजिक रवाफ र हैसियतका साथ बाँच्न सक्छ भन्ने विकृतिप्रति तिखो प्रहार गरिएको छ ।
‘राजनीतिको रन्को’ मा बाँच्नु छ भने कुनै न कुनै राजनीतिक दलमा भर्ती हुनुपर्ने कुरालाई दर्साइएको छ । ‘यो अध्यक्षहरुको देश’ मा पदका लागि मरिहत्ते गर्नेहरुप्रति कठोर प्रहार गरिएको छ । ‘चर्पीः आनन्दालय’ मा चौरासी व्यञ्जन हसुर्ने र जेनतेन छाक टार्ने दुबै वर्गको उत्सर्जन प्रक्रिया एउटै र उस्तै हुने सर्वव्यापी नियमलाई चित्रित गरिएको छ । ‘गोर्खालीको कपाली तमसुक’ निबन्ध वीर गोर्खाली भनेर इतिहासमै लेखिएको भए पनि दैलो अगाडि नै आएर छिमेकीले साँध मिच्दा समेत प्रतिक्रियाविहीन भएर बाँचेको नेपालीहरुको लाचारीपनमाथि गरिएको व्यङ्ग्य हो । ‘कवि चिन्तामणीका कविता’ मा साहित्यप्रतिको वितृष्णालाई लेख्नुभएको छ ।
‘फेसबुक फेहरिस्त’ मा सामाजिक रुपमा उपस्थित भएर साट्नु पर्ने सद्भाव, सौहाद्र्धता, आपसी सरसहयोगदेखि टाढा गराएर सामाजिक सञ्जालले निम्त्याएको विकृति र विसंगतिलाई देखाउने काम गरिएको छ । बीमाको झमेला मा बीमाको क्षेत्रमा हुने गरेको अफ्ठ्यारो परिस्थितिलाई दर्साइएको छ । ‘सेटिङ’ मा जुनसुकै क्षेत्र किन नहोस् भनसुन अनि चाप्लुसी नगरी काम गर्न र गराउन नसकिने हालको अवस्थालाई इंकित गरिएको छ । ‘भुईँ मान्छे’ मा काम पर्दामात्र प्रयोगमा आउने निम्नवर्गीय मानिसहरुको पीडालाई व्यक्त गरिएको छ । ‘पौड्याल बाजे कान्तिपुरमा’ मा पुरानो समय र अहिलेको समयमा आएको परिवर्तनका साथै हालको समयमा भइरहेको विकृतिहरुलाई देखाउन खोजिएको छ र जातीय विभेदका मुद्दालाई पनि उठान गरिएको छ ।
समाजका यी विविध पक्षमा भएका विकृति विसंगतिहरुलाई हाँस्यव्यङ्ग्यका माध्यमद्वारा समस्याको उठान गरिएको छ । त्यसको समाधानका लागि पनि सोच्नुपर्ने बेला आएको छ भन्ने उद्देश्य लिनु नै यस पुस्तकको मुख्य सार हुनगएको छ । सरल र व्यङ्ग्यात्मक भाषाशैलीका बीच पनि कतै कतै नेपाली जनजिब्रोका ठेट शब्दहरु टिपिनुले कृतिलाई अझ स्वादिलो बनाएको छ । व्यवहारिक जीवनमा देख्दै र भोग्दै आएका केही त्यस्ता सामान्यभन्दा पनि सामान्य लाग्ने कुराहरुलाई पनि व्यङ्ग्यको क्षेत्रमा समेट्नु अति रुचिकर लाग्यो । भूमिका लेख्ने क्रममा आर.सी. रिजालले भन्नु भए झैंँ हाम्रा लेखकले समाजसँग सरोेकार राखेको हुनैपर्छ नत्र त्यो (लेखाइ) फोगटा धान जस्तै हुन्छ । कारण हाम्रो लेख मनुष्यको सुन्दर भविष्यप्रति लक्षित हुनै पर्छ ।” साँच्चै हो यस किसिमको कृति झरिलो अनि भरिलो धानको बाला हो र समाजको विविध पक्षको चासो राख्ने सरोकारवाला हो ।
पुरानै लेखनशैलीलाई नै अबलम्बन गरी लेखिएको हुँदा मध्यमस्तरीय रचना बन्न पुगेको छ । केशवराज पिँडाली, भैरव अर्यालकै समयको हाँस्यव्यङ्ग्य शैली पुनः दोहोरिएको आभाष हुन्छ । तसर्थ हाँस्यव्यङ्ग्यको क्षेत्रमा नयाँ–नयाँ शैली आइरहँदा पनि गिलासवादले भने नयाँ लेखनशैलीलाई भेट्न नसकेको हो कि भन्ने लाग्दछ । आफ्नै मौलिक शैली स्थापित गर्न लेखकले अझै मेहनत गर्नु आवश्यक छ । यस पुस्तक पढ्दै गर्दा पाठकको ओठमा हाँसो त पैदा गर्छ नै व्यङ्ग्यले पनि उत्तिकै घोच्छ तर हालको देशको अस्तित्व नै सङ्कटमा परिराखेको समयमा राष्ट्रप्रति जागरुक हुनका लागि युवा वर्गलाई उठ्न र जुट्न अनि जुझारु हुनका लागि अभिप्रेरित गर्ने तर्फ चुकेको हो कि भन्ने लाग्दछ ।
आधुनिक प्रविधिको गलत प्रयोगले मानिसको मनोदशालाई साढेसाती दशा त बनाएकै छ तर पनि यसको सही प्रयोगले जीवनलाई कायापलट पारेको प्रसंगलाई पनि प्रस्तुत गर्न सकेको भए अझ स्तर बढ्थ्यो की ? सुरुदेखि अन्तसम्म कतै न कतै कुनै न कुनै रुपमा राजनीति नै हाबी भएको देख्न सकिन्छ । महिलाका दुखेसा, बालबालिकाका जिज्ञासा, युवा र प्रौढका निरासा अनि बृद्वहरुका गुनासा पनि लेखिएको भए हुन्थ्यो भन्ने लागिरह्यो ।