६० वर्षका कृष्णबहादुर कार्की

हेटौंडाः विगत ३ वर्षदेखि बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका क्षेत्रमा मागेर नै एक व्यक्ति आफ्ना दैनिकी निर्वाह गरिरहेका छन् । ६० वर्षका कृष्णबहादुर कार्की अपाङ्गता भएपछि मागेर कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

कार्की भन्छन्– ‘घरमा रंग लगाउने क्रममा लडेर एउटा खुट्टा गुमाएदेखि माग्नलाई बजारका विभिन्न ठाउँमा बस्दैछु ।’ वडाध्यक्ष, उमहानगरपालिकादेखि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलसमेतले विभिन्न अश्वासन दिए, तर अहिलेसम्म सुकुम्बासी नै रहेको कार्कीले बताएका छन् । लालपूर्जा उपलब्ध गराइदिने सिफारिस भएको र आफूसँग प्रमाणका लागि पत्रसमेत भएको उनले दावी गरेका छन् ।

‘प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयको केही दुरीमा जग्गा उपलब्ध गराएर एउटा सानो छाप्रो बनाउने अश्वासन दिएको भए पनि न जग्गा पाएँ, न त सानो छाप्रो’, कार्कीले गुनासो गर्दै भने– ‘त्यसैले नै मागेर सडकमा बस्दैछु, एउटा खुट्टा छैन, काम गर्न सक्दिन ।’ मागेर खानु रहर होइन, बाध्यता भएको कार्कीले बताए । आफ्नो नेपाली नागरिकतासमेत भएकाले स्थायी बासिन्दाका रुपमा स्थापित गर्न सिफारिससमेत गरेको भए पनि अहिलेसम्म बासोबासका लागि व्यवस्था मिलाउन नसकेको उनले बताउनुभयो ।

हेटौंडा वडा नम्बर १० का वडा अध्यक्ष किताबसिंह लामा भन्नुहुन्छ– ‘सरकारबाट अपाङ्गता भएका व्यक्तिका लागि आएको बजेट स्थानीय तहले उपलब्ध गराउँदै आएको छ ।’ स्थायी बसिन्दाका रुपमा व्यवस्थित गरी सुकुम्बासीलाई बासस्थान भने उपलब्ध गराउन नसकेको बताउनुभयो । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय र सहकार्य हुन अवश्यक भएको वडा अध्यक्ष लामाले बताउनुभयो ।

एक तहको सरकारले मात्र यो कार्य सम्भव नहुने उहाँले बताउनुभयो । सरकारले नै भूमिहीन व्यक्तिहरुको पहिचान गराउन स्थानीय तहलाई जिम्मेवारी दिएको बताउनुभयो । जसअनुरुप कार्य गरिएको र सबै भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउन नसके पनि लामो समयदेखि बस्दै आएकालाई भने यस कार्यक्रमले समेटिएको उहाँले बताउनुभयोे । वडाले कार्कीलाई राहतको अवसर आएका बेला राहत राहत प्रदान गर्दै आएको लामाले दावी गर्नुभयो ।