भलिबल प्रशिक्षण गर्दै हेटौंडा-९ का खेलाडीहरु ।

हेटौंडा: हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का भलिबल खेलाडीलाई खेल सामाग्री सहयोग भएको छ । राष्ट्रिय युवा संघ हेटौंडा ९ नं. वडा कमिटीका इन्चार्ज बिबेक दाहालले खेलाडीहरुलाई खेल सामाग्री सहयोग गर्नुभएको हो ।

आइतबार युवा इन्चार्ज दाहालले खेलाडीहरुको प्रशिक्षण स्थलमा नै आएर २ वटा भलिबल र नेट जाली हस्तान्तरण गर्नुभएको छ । नगरकप महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने गरेका महिला टिमसहितको टोलीले प्रशिक्षण गर्न खेल सामाग्रीको अभाव भएको जानकारी पाउनुभएपछी उहाँले ब्यक्तिगत खर्चमा खेल सामाग्री सहयोग गर्नुभएको हो । पानी परेर चौर हिलाम्य भएको समयमा पनि खेलाडी बहिनीहरुले लगनशिलताका साथ प्रशिक्षण गरेको देखेर खुसी भएको उहाँले बताउनुभयो । पार्टीले आफुलाई ९ नं. वडाको युवा इन्चार्ज बनाई खेलकुद क्षेत्रको समेत जिम्मा दिएको कारण वडामा भएका खेलाडीहरुको समस्या बुझेर समाधान गर्नु आफ्नो कर्तब्य भएको उहाँको भनाई रहेको छ ।

`केहिदिन अघि पानी परेको बेला हिलोमा पनि च्यात्तिसकेको बल लिएर प्रशिक्षण गरिरहेको देखेपछी मैले आफ्नो मन सम्हाल्न सकिन । त्यसैले जति सकेँ सोही अनुसार सहयोग गरेको छु ।´ दाहालने भन्नुभयो । खेलाडीहरुले आफुहरुलाई ब्यवस्थित भलिबल कोर्ट (मैदान) को आवश्यकता भएको भनेपछी उहाँले वडा अध्यक्षलगायत सम्बन्धित निकायसामु कुरा गरेर चाडैं नै कोर्ट निर्माण गर्न पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । हाल वडामा रहेका युवाहरुमा लागुऔषध दुर्ब्यसनीको घटना बढ्दै गएकाले त्यसलाई खेलकुदको माध्यमबाट न्युनिकरण गर्न सकिने भएकाले वडामा भएका युवाहरुलाई पनि खेलकुदमा प्रेरित गर्न पनि उहाँले खेलाडीहरुलाई अनुरोध गर्नुभएको छ ।

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा समेत सहभागी भएका हेटौंडा-९ का महिला खेलाडीहरुलाई प्रशिक्षण गर्न ब्यवस्थित कोर्ट नहुँदा राम्रोसँग प्रशिक्षण गर्न समस्या भैरहेको खेलाडी लिसारा पुलामीले बताउनुभयो । केही ब्यक्तिले प्रशिक्षण गर्ने स्थलमा नै गाडी ल्याएर पार्किङ गरिदिने गर्ने कारण प्रशिक्षण स्थल भत्किने र पानी परेको बेला हिलो हुनेगरेको उहाँको गुनासो रहेको छ । साथै ब्यवस्थित रुपमा भलिबल कोर्टको निर्माण गर्न पनि उहाँले वडा लगायत सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।