
हेटौंडाः नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले विद्यालय सुचारु गर्ने विषयमा स्थानीय प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कोभिड–१९ महामारी भनिए पनि सवै क्षेत्र सुचारु भइरहँदा विद्यालय मात्रै बन्द गर्नुको औचित्य नहुने भन्दै स्वास्थ्य सतर्कता अपनाएर पठनपाठन सुचारु गर्न आवश्यक रहेको उल्लेख गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद चौलागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । ध्यानाकर्षणपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले विद्यालय सुचारु गर्ने विषय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रीय समितिको निर्णयमा निर्भर रहने बताउनुभयो । विद्यालय सुचारु गर्ने विषयमा स्थानीय प्रशासनको मात्रै निर्णय पर्याप्त नहुने उल्लेख गर्नुहुँदै अभिभावक संघको ध्यानाकर्षणलाई केन्द्रीय समितिमा पठाइने बताउनुुभयो ।

ध्यानाकर्षणपत्रमा अभिभावक संघले कोभिड १९ को महामारीका कारण विद्यालयको पठनपाठन अस्तव्यस्त भएको उल्लेख गर्दै देशका भावी कर्णधारहरुको शिक्षा क्रमशः सर्टिफिकेटमा मात्रै सीमित हुने होकी भन्ने गम्भिर आशंका उत्पन्न भएको जनाएको छ । ‘राज्यद्वारा निर्देशित वैकल्पिक माध्यमको रुपमा रहेको अनलाईन कक्षा सञ्चालन गरेको पाईए पनि एकैचोटी यो प्रविधिमा विद्यार्थीहरुलाई समावेश गराउन समस्या पनि देखिएको छ ।’, संघले ध्यानाकर्षणपत्रमा भनेको छ, ‘अधिकांश विद्यार्थीका अभिभावकले मोबाईल किन्न गाह्रो परिरहेको, मोवाईल किनेमा नेट नहुने समस्या रहेको, नेट भए पनि ढिलो चल्ने जस्ता समस्या एकातिर छन् भने अर्काेतर्फ एकै परिवारका एक भन्दा बढी विद्यार्थी फरक कक्षामा अध्ययनरत भएमा विद्यार्थीपिच्छे मोवाईल वा ल्यापटप किन्नु पर्नै समस्या पनि रहेको छ ।’
संघले अभिभावकको मञ्जुरीमा विद्यार्थी विद्यालय अए सुरक्षा मापदण्ड अपनाई पढाउन दिने, विद्यालयको बेन्च र विद्यार्थी संख्यालाई एकिन गरी सुरक्षा मापदण्ड पालना गर्न लगाउन पनि ध्यानाकर्षण गराएको छ । अभिभावक संघले स्थानीय प्रशासनसँगै जिल्ला शिक्षा समिति र शिक्षा विकास तथा समन्वय एकाईलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ ।