हेटौंडा अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन भएको छ । दैनिक १२० थान अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने क्षमताको प्लान्टको आइतबार बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । उद्योग संघ मकवानपुरले विभिन्न दाताहरुसँग रकम संकलन गरेर १ करोड ३६ लाखको लागतमा प्लान्टर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पताललाई नमुना अस्पताल बनाउने बताउनुभएको छ । हेटौंडा अस्पतालबाट अन्य ठाउँहरुमा बिरामीहरु रेफर गर्ने होइन अन्य ठाउँका अस्पतालबाट रेफर भएर आएका विरामीहरुको उपचार हेटौंडा अस्पतालले गर्ने उहाँले बताउनुभयो । अहिले हामीले अक्सिजन प्लान्ट जडान गर्‍यौँ अब अर्को इमिरेट अक्सिजन प्लान्ट पनि आउने छ, मुख्यमन्त्री पौडेलले भन्नुभयो । अब हेटौंडा अस्पतालमा सिटी स्क्यान गर्ने ठाउँ बनिरहेको र एमआरआई मेसिनको टेन्डरमा गइसकेको भन्दै चाँडै आउने जानकारी गराउनुभयो । अस्पतालमा भवनहरु पुग्ने ठाउँ भएपछि मुटुसम्बन्धी रोगको उपचार गर्ने केन्द्रको रुपमा पनि विकास गर्ने योजना भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल लगायतको उपस्थिति रहेको थियो । यसअघि हेटौंडा अस्पतालमा मकवानपुर घरजग्गा व्यवसायी संघले दिएको अक्सिजन प्लान्टले राखिएको थियो ।