विभिन्न क्षेत्रसँग सरोकार राख्ने नागरिकहरु संगठित भई प्रभावकारी दवावका लागि काम गर्नु आवश्यक हुन्छ । व्यक्तिगतभन्दा संस्थागत आवाजको सुनुवाई हुने गर्दछ । संस्थामा विभिन्न व्यक्तिहरुको प्रतिनिधित्व भएकाले सरोकारवाला निकायले सुनुवाई गर्न बाध्य हुन्छ । नागरिकका पक्षमा वकालत गर्न भन्दै विभिन्न क्षेत्रमा आवद्ध संस्थाहरु गठन हुने गरेका छन् । तर यस्ता संस्थालाई केही व्यक्तिले सार्वजनिक हैसियत बनाउने माध्यम बनाएको गुनासो पनि छ । नागरिकका गुनासालाई संगठितरुपमा राज्यका निकायमा पुर्याउन भन्दै मकवानपुरमा पनि विभिन्न संस्थाहरु गठन गरिएका छन् । तर यसरी गठित संस्थाहरुले उद्देश्यअनुसार कार्य गरेका छन् त ? भन्ने प्रश्न उठ्दै आएको हो । संस्था निर्माण गर्ने क्रममा हानाथाप गर्ने र राजनीतिक आस्थालाई प्राथमिकतामा राख्ने परम्परा नै छ ।
मकवानपुरमा आम नागरिकलाई राज्यका निकायहरुसम्मको पहुँचमा पुर्याउन वन, शिक्षा, मानव अधिकार, उपभोक्ता, स्वास्थ्य तथा सार्वजनिक अन्य महत्वका क्षेत्रका लागि धेरै संस्थाहरु गठन भएका छन् । ती संस्थाहरुले आम नागरिकको आवाज भन्दा पनि आफ्नो दलीय आस्थालाई प्राथमिकतामा राख्न प्रभावकारी हुन सकेका छैनन् । कोरोना महामारीले दुई बर्षसम्म नागरिक समस्यामा पर्दा संस्थाहरु बेपत्ता नै छन् । आफू आवद्ध भएको क्षेत्रका नागरिकले खेप्नुपरेको समस्याप्रति गम्भीर देखिएनन् । अन्य सम्पूर्ण क्षेत्र चलायनमान भइसक्दा पनि विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । लामो समयसम्म घरमै बस्नुपर्दा विद्यार्थीको शैक्षिक अवस्थादेखि भर्ना, शुल्क, पाठ्यपुस्तक, अनलाइन पढाई र परीक्षाजस्ता अनेक विषयमा अन्यौलता छ । तर, अभिभावक संघ खै ?
विद्यालय, विद्यार्थी र अभिभावकका समस्या सम्बन्धित निकायसम्म वकालत गर्न अभिभावक संघ मकवानपुरमा गठन भएको छ । शिक्षासँग सरोकार राख्ने निकायले गर्नुपर्ने जिम्मेवारी, विद्यालयहरुले लिँदै गरेका अनलाइन कक्षा, भर्ना तथा मासिक शुल्कजस्ता कुरामा सहजीकरणका लागि नेतृत्व गर्नसक्ने अवस्थामा रहेको अभिभावक संघ सक्रिय हुनुपर्ने आवाज उठ्दै आएको छ । अन्य संस्थाहरु निस्क्रिय नै रहँदा यो संस्थाले भूमिका देखाउने प्रयास गरेको छ । यसलाई सकारात्मक पहल मान्नुपर्दछ । यस्तै प्रयास अन्य संस्थाहरुबाट पनि नागरिकले अपेक्षा गरेका छन् । अभिभावक संघको सक्रियताले शिक्षासँग सम्बन्धित सस्यामा सहजीकरण हुने अपेक्षा राख्न सकिन्छ । राजनीतिभन्दा माथि उठेमात्र संस्थाले भूमिका खेल्न सक्छन् । नत्र विश्वास हुँदैन ।
अभिभावक वर्ग अन्यौलमा रहेकै अवस्थामा नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले जिल्लाको शैक्षिक अवस्थाको मूल्यांकन गरी प्रभावकारी पठनपाठनका लागि पालिकाहरुलाई जिम्मेवार बनाउन प्रभावकारी पहल गर्नुपर्दछ । लामो समयदेखि पठनपाठन अस्तव्यस्त भइरहेको र वार्षिक परीक्षासमेत भइसकेको अवस्थामा पालिकास्तरमा शैक्षिक अवस्थाबारे मूल्यांकन गरी नियमित पठनपाठनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, जिल्ला शिक्षा समिति र शिक्षा विकास तथा समन्वय इकाईलाई ध्यानाकर्षणपत्र बुझाउने पछिल्लो प्रयास संघका सकारात्मक पहल हो । लामो समयसम्म निस्क्रिय भएपछि संस्थाको अस्तित्व देखाउनमात्र हो वा काम पनि प्रभावकारी हुन्छन् । आम अभिभावकहरु प्रतीक्षामा छन् । संस्था जीवित देखाउन भन्दा पनि नागरिकका वास्तविक समस्यालाई सम्बोधन गर्न यस्ता संस्थाहरुको सक्रिय भूमिका नागरिकका लागि राहत हुनसक्छ ।