किरणराज शर्मा

हेटौंडाः संघीय सरकारले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा किरणराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनुभएका शर्मालाई सोमबारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्दप्रसाद पौड्याल उमेर हकका कारण अनिवार्य अवकाश हुनुभएपछि शर्मालाई प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो । नेपाल सरकारले साउन पहिलो साता मात्रै शर्मालाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।

यस्तै कृष्णहरी पुस्करलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ । सरकारले गृह सचिवमा टेक नारायण पाण्डेलाई ल्याएको छ । मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।