मास्क लगाउन पटक–पटक राज्यले उर्दी जारी गर्दा पनि नागरिकले बेवास्ता गरेका छन् । कोरोना महामारीबाट बच्ने पहिलो माध्यम नै स्वास्थ्य मापदण्डको पालना नै हो । यसको आवश्यकता र औचित्य तथा तरिकाबारेमा जानकार हुँदाहुँदै पनि नागरिकले हेलचेक्र्याई गर्दा महामारी फेरि बढ्दै गएको छ । मकवानपुरमा जिल्ला प्रशासनले केही हप्ता पहिला पनि मास्क अभियान सञ्चालन गरेको थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि फेरि पनि मास्क अभियान सुरु गरेको छ । हेटौंडाको भिडभाड हुने विभिन्न स्थानमा मास्क अभियान सञ्चालन गर्न भनिएको छ । कोरोनाविरुद्धको अभियानमा राजनीतिक दल र तिनका भातृ संस्थाहरुको भूमिकाचाहिँ आवश्यक नै नपर्ने हो ? हैन भने जनतासमक्ष पुग्ने महत्वपूर्ण मौका त यस्तै समयमा नै हो नि ।
जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएपछि आम नागरिक चिन्तित भएका छन् । उनीहरुलाई आश्वस्त बनाउने जिम्मेवारी राज्यको हो । ज्यानको सुरक्षाका लागि व्यक्ति स्वयम्ले गर्नुपर्ने जिम्मेवारीबाट पन्छँदै अरुकै भरपर्ने प्रवृत्ति नागरिकले पनि त्याग्नु आवश्यक छ । किन लापरवाही गर्ने ? सरकारले भनेपछि मात्र मास्क लगाउने हो वा व्यक्ति स्वयम् जिम्मेवार बन्ने भन्ने पक्ष महत्वपूर्ण छ । सरकारका तर्फबाट परामर्श दिने हो । त्यसको पालना त व्यक्ति स्वयम्को हो । भिडमा हिँड्ने वा नहिँड्ने सार्वजनिक सवारी साधनको प्रयोग गर्दा अपनाउनुपर्ने होशियारीजस्ता कुरामा नागरिक आफैँ सचेत बन्न आवश्यक छ । राज्य संयन्त्रका लागि मात्र स्वास्थ्य मापदण्ड पालना गर्ने व्यवहारले महामारी बढ्नु स्वभाविक हो ।
हेटौंडामा कोरोना संक्रमणको जोखिम रहिरहेको अवस्थामा निषेधाज्ञालाई समेत कडा पार्दै थप गरिएको छ । जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधनहरु फेरि जोर–बिजोर प्रणालीमा चल्ने भएका छन् । विशेषगरी हेटौंडा बजार क्षेत्रमा व्यवसाय तथा यातायातहरु खुलेको अवस्थामा चहलपहल बढेको त छ नै, सर्वसाधारणहरु पनि बिना रोकटोक र स्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना नगरी हिँड्ने गरेपछि प्रशासनले केही कडाई गरेको देखिन्छ । प्रशासनले गत बैशाखदेखि हेटौंडा र आसपासका क्षेत्रहरुमा निषेधाज्ञालाई निरन्तरता दिएको छ । तर पछिल्लो समय मानिसहरुले यसको पालना न्यून हुँदै गएपछि संक्रमण पनि बढ्दै गएको छ । त्यसैले फेरि प्रशासनले फेरि कडाई गर्न थालेको हो ।
महामारी नियन्त्रणका लागि अपनाइने सचेतना कार्यक्रममा स्वयम्सेवी संस्थाहरु परिचालित हुँदै आएका छन् । तर यस काममा राजनीतिक दल र तिनका भातृ संस्थाहरुको भूमिका आजसम्म शून्यप्रायः छ । पार्टीका पेसागत संगठनदेखि राजनीतिक इकाईसमेत परिचालन हुनुपर्ने हो । तर उनीहरु राजनीतिक हतियारमात्र देखिँदै आएका छन् । नेतृत्वको सत्ता जोगाउने वा सत्तामा पुर्याउने खेलमा भर्याङ बन्दै आएका यस्ता संस्थाहरु महामारीविरुद्ध कि उभिँदैनन् ? समाजप्रति उनीहरुको जिम्मेवारी नै नभएको हो ? महामारीकैबीच पनि दलीय कार्यक्रममा सडक तताउने कार्यकर्ताहरु कोभिडविरुद्ध अभियान सञ्चालनमा खै ? नागरिकको स्वास्थ्यप्रति थोरै पनि चासो र चिन्ता छ भने दलीय संस्थाहरुबाट महामारीविरुद्ध अभियानमार्फत् सेवा गर्ने अघि आउनु आवश्यक छ । नत्र नागरिकलाई भोट बैंकका रुपमा मात्र हेर्ने अवस्थाको अन्त्य हुनसक्छ ।