हेटौंडाः अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य हीरा वाईबा धरौटीमा रिहा भएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वाईबालाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिनुभएको हो ।
साउन १६ गते प्रतिष्ठानले आयोजना गरेको वनभोजमा प्रतिष्ठानकै कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले वाईबालाई शुक्रबार नियन्त्रणमा लिएको थियो । प्रहरीले उजुरीकर्ताको नाम भने उल्लेख गर्न चाहेन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले उजुरीकर्ता महिलाहरुले आफ्नो नाम उल्लेख गर्न नचाहेको बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौंडा अस्पतालमा कार्यरत वाईबा कर्मचारी प्रतिनिधिको रुपमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा सदस्य मनोनित भएका हुन् ।