बागमती प्रदेशका प्रमुख सचिव डा.मुकुन्दप्रसाद पौड्याललाई विदाई गर्दै ।

हेटौंडाः बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्दप्रसाद पौड्याललाई विदाई गरिएको छ । उमेर हदका कारण अवकास हुन लाग्नु भएका प्रमुख सचिव डा. पौड्याललाई आइतबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले विदाई गरेको हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव डा. पौड्याललाई मायाको चिनोसहित विदाई गर्नुहुँदै सरकारी सेवामा रहेर पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख खुलालले प्रमुख सचिव डा. पौड्यालको कार्य कुशलताको प्रशंसा गर्दै सरकारी जागिरबाट अवकास पछि पनि सक्रिय जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो । प्रदेशको प्रमुख सचिवका रुपमा काम गर्दा जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगका लागि समेत जिसस प्रमुख खुलालले धन्यवाद दिनुभएको थियो ।

प्रमुख सचिव डा. पौड्यालले आफूले प्रदेश सरकार सफल हुने गरी काम गरेको बताउनुभयो । जिल्ला समन्वय समितिले गरेका कामहरुको समेत प्रशंसा गर्नु भयो । प्रमुख सचिव डा. पौड्यालले उमेर हदका कारण यहि श्रावण २६ गतेबाट अवकास प्राप्त गर्दै हुनुहुन्छ । विदाई कार्यक्रममा जिससका शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेलको पनि सहभागिता थियो ।