साउन ६ र ७ गते नेपाली राजनीतिका दुई शिखर पुरुषको स्मृति दिवस । नेपाली समाजवादी आन्दोलनका प्रणेता वीपी कोइरालाको साउन ६ गते ३९ औं स्मृति दिवस र नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको साउन ७ गते ४३ औं स्मृति दिवस । गत वर्षमा यी महान पुरुषहरुको स्मृतिमा केही कार्यक्रम हुने गरेका थिए । तर कोरोनाको कारण भन्दै दुई वर्षदेखि पार्टीहरुले औपचारिक कार्यक्रम नै गर्न सकेका छैनन् । सत्तास्वार्थका लागि कार्यकर्ता भेला गर्न नहिच्किचाउने दलहरु लोकतान्त्रिक आन्दोलनका अगुवाहरुलाई सम्झना गर्न कोरोनाको बहाना बनाइरहेका छन् । आफ्ना अग्रजप्रतिको सम्मानले नै भावी पुस्ताले परम्परा धान्नेछन् । नत्र आजको नेताहरुलाई भोलिको पिँढीले किन सम्झने ?

आधुनिक नेपाली राजनीतिका महामानवहरुको योगदानलाई आजको पुस्ताले स्मरण गर्न आवश्यक छ । योगदानबारे चर्चा गरिनु पर्दछ । राणा शासनको कालरात्रिको अन्त्य गर्दै लोकतान्त्रिक चेतनाको दियो बाल्ने यी पुरुषहरुको आदर्श र सिद्धान्त फरक भए पनि उद्देश्य एउटै थियो । राजनीतिक अन्धकारमा वीपीले प्रजातान्त्रिक पद्दतिका लागि संघर्ष गरे भने पुष्पलालले कम्युनिष्ट आदर्शका लागि जीवन अर्पण गरेका हुन् । नागरिक अधिकार प्राप्त गर्ने बाटाहरु फरक देखेका थिए । तर उनीहरुको पीडा एउटै थियो । जनतालाई अधिकारसम्पन्न गराउने अभियानमा भिन्न चिन्तन र शैलीबाटै अघि बढ्दै गएका यी दुई पात्रको जीवन अवसान पनि एउटै परिवेशमा भएको हो । राणाविरोधी आन्दोलनको अगुवाई गरेका नेताहरुले पञ्चायती भुंग्रोमा जीवन त्यागेका हुन् ।

राजनीतिका आदर्श व्यक्तित्वका अनुयायीहरु आज उनीहरुकै नाम र योगदानको चर्चा गरेर शासनसत्ता सञ्चालन गरिरहेका छन् । कोइराला र श्रेष्ठको नैतिक आचरण लोकतन्त्र र नागरिक अधिकार केन्द्रित थियो । तर आज सत्ताका लागि जे पनि गर्ने चरित्रको विकास भएको छ । सबै नेतारुले वीपीको नाम सगौरव लिने गर्दछन् । तर राजनीतिक आचरण ठिक विपरित हुँदै आएको छ । राष्ट्र, राष्ट्रियता, जनजीविकाका पक्षमा कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र पुष्पलालको चरित्र आजको पुस्ताले भाषणमा मात्र सीमित गरेका छन् । उनीहरुको अनुयायी भएको भन्दै आम नागरिकअघि नक्कली समर्थक बन्ने काममात्र भएको छ । वास्तविकरुपमा यी महापुरुषको चिन्तन र सिद्धान्त आज अलपत्र परेको छ ।

वीपी र पुष्पलालले सादगीपूर्ण जीवन बाँचेको इतिहास छ । दुवै पात्रले चरम आर्थिक अभावको सामना गर्नुपरेको थियो । राणादेखि सुरु भएको उत्पीडन उनीहरुमाथि राजा र पञ्चहरुले पनि उत्तिकै दिएका थिए । तर आफ्नो आदर्श र मूल्य, मान्यतामा कहीँ कतै विचलित भएनन् । अहिलेको राजनेताहरुमा सत्ता, धनदौलत, सुखभोगका लागि सिद्धान्त र आदर्श बेच्नेसम्मको चरित्र विकास भएको छ । विलाषीपूर्ण जीवनका लागि राजनीति गर्नेहरुको बाहुल्यता बढ्दै गएको छ । तर आफूलाई आदर्शवादी प्रमाणित गर्न यी महानायकहरुको नाम जप्न छाडेका छैनन् । यदि उनीहरुको आदर्शलाई जीवनमा लागू गर्ने हो भने मुलुकले आज भोग्दै गरेको दुर्गति धेरै पहिला नै अन्त्य भइसकेको हुनेथियो । तसर्थ आदर्श बोली र भाषणमा हैन, व्यवहारमा लागू गर्न सक्नुपर्दछ ।