हेटौंडा–५ स्थित पुष्पलालपार्कमा रहेको पुष्पलालको प्रतिमा अनावरण गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस हेटौंडामा मनाइएको छ । पुष्पलाल स्मृति दिवसकै अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–५ स्थित पुष्पलालपार्कमा रहेको पुष्पलालको प्रतिमा अनावरण गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले पुष्पलालको विचार र सिद्वान्त विपरीत अहिलेको राजनीति रहेको बताउनुहुँदै पुष्पलालको सिद्वान्त र विचारलाई अंगालेर एकजुटका साथ अघि बढ्न आग्रह गर्नुभयो । आफ्नै पार्टीभित्रका कम्युनिष्ट बनाउँदाले आफ्नो घर खरानी बनाएर अरुको घरमा आगो बाल्ने काम गरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरु मिलेर निरङ्कुशता विरुद्व लड्नुपर्ने धारणा राख्नुहुँदै मुख्यमन्त्री पौडेलले २०३६ सालको जनआन्दोलनले सार्थकता पाउन नसकेपनि २०४६ सालको जनआन्दोलनपछि भने एमाले पार्टीले आफ्नो उचाइ राख्न सफल भएको बताउनुभयो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । नेपाली क्रान्तिका सिद्वान्तकार पुष्पलालले नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । विसं १९८१ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा मओवादी मकवानपुरका नेता कमानसिंह पाख्रिन र राप्रपा मकवानपुरका गुरुप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।