हेटौंडाः हेटौंडा–६, चौघडाको शान्ति टोल विकास संस्थाले आफ्नै भवन तयार पारेको छ । स्थानीय समुदायको सहयोगमा करिब १७ लाख रुपैयाँ लागतमा दुई तल्ले भवन निर्माण सम्पन्न गरी मंगलबार उद्घाटन गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भवनको उद्घाटन गर्नुभएको छ ।
पूर्णभद्र चौलागाईको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको थियो । भवन निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ सहयोग गरेको छ । भवन उद्घाटनसँगै टोल विकास संस्थाले मंगलबारबाट चतुर्मासको सुरुवात समेत गरेको छ । टोल विकास संस्थाले निर्माण गरेको भवनमा पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा पुस्तकालय समेत स्थापना गरिएको छ । गत असार १२ गते पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेपछि शान्ति पुस्तकालय सञ्चालनमा आएको हो ।
मंगलबार टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष समेत रहनुभएका शान्ति टोल विकास संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षता तथा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा टोल विकास संस्थाको भवन उद्घाटन कार्यक्रम भएको हो ।